शुक्रवार , जेठ २९, २०८३
रुपन्देही, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीले आफ्नो पार्टीबाट प्रदेश अन्तर्गत विभिन्न पालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई सामूहिक प्रशिक्षणको आयोजना गरेको छ ।
रुपन्देहीको बुटवलस्थित पार्टीको प्रदेश कार्यालयमा शुक्रबार आयोजित यो प्रशिक्षणमा सहभागी जनप्रतिनिधिले आफ्ने क्षेत्रका सबल र कमजोरी पक्षका विषयमा नेतृत्वलाई सुनाएका थिए । उनीहरुले स्थानीय तहमा काम गर्दाका समस्या, पार्टी नेतृत्वबीच बढेका असमझदारीले झेल्नुपरेका चुनौती, निर्वाचनअघि भएका गठबन्धनले कार्यसम्पादनमा पारेका प्रभाव, कतिपय पालिकामा अल्पमतमा हुँदा कार्यान्वयन गर्न नसकेका विषय र कार्यअवधिको अन्तिम वर्षमा गर्नुपर्ने रणनीतिका विषयमा नेतृत्व तथा अन्य सहभागीलाई सुनाएका थिए । त्यस्तै पार्टी नेतृत्वले पार्टीकोतर्फबाट उम्मेदवार बनेर जितेपछि पार्टीसँगको सहकार्यका देखिएको कमजोरी, स्थानीयस्तरमा पार्टीको जनमत कम हुनुका कारण तथा अब पुरानो जनमत कसरी कायम गर्ने विषयलाई एजेण्डाका रुपमा अघि सार्न निर्देशन गरेको थियो ।
प्रदेशका १०९ निर्वाचन क्षेत्र र १२ जिल्ला समन्वय समिति (जिसस) मध्ये एमालेबाट प्रमुख र उपप्रमुख गरी ७२ जना मात्रै रहेका छन् । २०७९ को स्थायीय निर्वाचनअघि प्रदेशका १०५ क्षेत्रमा तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा), नेपालको गठबन्धन रहेको थियो ।
शुक्रबारको प्रशिक्षणमा प्रमुख प्रशिक्षकका रुपमा स्थानीय निकाय विभागका पूर्वसदस्य विमल पोखरेलले पार्टी र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्ध, स्थानीय सरकारका नीति, कार्यक्रम र बजेट तर्जुमासम्बन्धी विभिन्न विषयमा सहभागीलाई जानकारी दिनुभएको थियो ।
प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले जनस्तरमा रहेका कमजोरीको पहिचान गरी समस्या समाधानको उपाय खोज्नका लागि पार्टीमार्फत स्थानीय तहमा पुगेका जनप्रतिनिधिहरुलाई सामूहिक छलफल गराउनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘सबैभन्दा धेरै संगठित पार्टीमा जनतासँग किन सम्बन्ध टाढियो, कुनै न कुनै समस्या नभइ त यो परिणाम आएको होइन । अब हामीले हाम्रा कमजोरी सच्याउन पनि जनतालाई अफ्ठेरो परेको विषय जान्न पहिलो चरणमै जनप्रतिनिधिलाई राखेका हौं, कहाँ कहाँ असमझदारी छन् तिनको पहिचानका लागि पनि यसले साथ दिनेछ, पार्टी र जनप्रतिनिधिबीच भएका कमजोरी पनि पत्ता लाग्नेछन् ।’
सचिव विश्वकर्माले एमालेविरुद्ध सबैतिरबाट घेराबन्दी भएका बेला भित्र भएका साना साना असमझदारीलाई छिटो सच्चाएर जान प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका पार्टी कमिटीलाई आग्रह गर्दै त्यसमा समन्वयकारी भूमिका पूरा गर्न जनप्रतिनिधिलाई सुझाउनुभयो ।
‘जनतासँग प्रत्यक्ष सरोकारका विषय स्थानीय तहकै जनप्रतिनिधिसँग आउँछ नै, यसका लागि सेवाग्राहीको विषयलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ नै, त्यसबाहेक आफू निर्वाचित भएर गएको पार्टीप्रतिको दायित्व र जिम्मेवारीसँगै राम्रा कामको प्रचार गर्नुपर्ने हुन्छ, अर्को पालिकाको सहकर्मीलाई सिकाउनुपर्नै हुन्छ, पार्टी कमिटीले पनि स्थानीय तहको विषयलाई प्रमुखताका साथ लिएर जान्छ नै, म प्रदेश, जिल्ला र स्थानीय तहकाृ जिम्मेवारीका साथीहरुलाई यो विषयमा ध्यान दिन आग्रह गर्छु’ उहाँले भन्नुभयो ।
प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अहिले निर्वाचित जनप्रतिनिधिको अन्तिम नीति कार्यक्रम तथा बजेट भएकाले पनि हिजोको समीक्षा, नयाँ कार्ययोजनाका विषयमा छलफल गर्नका लागि सामूहिक छलफल गराइएको जानकारी दिनुभयो । राम्रो काम गरेका पालिकाहरुका अनुभव पनि यो प्रशिक्षणमा शेयरिङ भएकाले धेरै प्रभावकारी भएको उहाँको बुझाइ छ । ‘यो केही समय पहिले नै गर्नुपर्ने रहेछ, तर अहिले भएपनि धेरै अनभव साथीहरुले आफ्ना कामहरु, योजनाहरु र समस्याहरु राख्नुभयो, धेरै महत्वपूर्ण विषयहरु सामुहिक छलफलबाट बाहिर आए’ उहाँले भन्नुभयो ।
प्रदेश सचिव लक्ष्मण आचार्यको सञ्चालनमा भएको कार्यक्रममा नवलपरासीको सुनवल नगरपालिका प्रमुख विमला अर्यालले जनमुखी योजनालाई प्रभावकारी बनाउने मुख्य उद्देश्य भएको र पार्टीबाटै निर्वाचित भएकाले त्यसको जिम्मेवारीमै रहेको बताउनुभयो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले कृषि र सिंचाईलाई प्रमुख रुपमा अघि सारेको बताउँदै पार्टीले यस्ता विषय लगातार समीक्षा र योजनाका समयमा राख्नुपर्ने बताउनुभयो ।
अर्घाखाँचीकै पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले कर्मचारीको समस्याले काम भनेजस्तो गर्न नपाएको तर, कार्यसम्पादनमा देशकै उत्कृष्ट पालिका परेकोमा निकै खुसी लागेको बताउनुभयो ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष मायादेवी गौतम, धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरीले मूल नेतृत्व आफ्नो पार्टीबाट नहुँदा कार्यसम्पादनमा धेरै समस्या हुने बताउनुभयो । उहाँहरुले पार्टीका तर्फबाट स्थानीय, जिल्ला र प्रदेशले लगातार यस्ता विषयहरुमा बहस चलाइरहनुपर्ने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij