शुक्रवार , जेठ २९, २०८३
भैरहवा, २९ जेठ । रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलले तीनवटा सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री प्रदान गरेको छ । एसियन बुद्ध होटल भैरहवा वल्र्ड कप फिस्टा २०२६ अन्तर्गत बिहीबार होटलमा आयोजित एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको हो ।
रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय सिद्धार्थनगर–८, श्री कोटही आधारभूत विद्यालय ओमसतिया–२ र श्री जनचेतना आधारभूत विद्यालय मायादेवी–८ का विद्यार्थीहरुलाई फुटबल र टीसर्ट प्रदान गरिएको होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदीले बताउनुभयो । प्रत्येक विद्यालयलाई पाँच–पाँचवटा फुटबल र टिसर्ट वितरण गरिएको सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल खेलाडी अञ्जन बिष्टले आफूले देखेका सपना पूरा गर्ने बाटोमा अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । उहाँले खेलकुदसँगै अध्ययनमा पनि जोड दिन आग्रह गर्नुभयो । खेलकुदमा केही योगदान गर्ने सोचका साथ आफू अघि बढेको बिष्टले बताउनुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले एसियन बुद्ध होटलले महत्वपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले नेपालमा क्रिकेटसँगै फुटबलको पनि क्रेज बढ्दो रहेको बताउनुभयो ।
होटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशान्त घिमिरेले एसियन बुद्ध होटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल प्रवद्र्धन गर्न धेरै गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले होटलले सधै खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्ने अठोट लिएको बताउनुभयो ।
सिर्जना नेपालीको सञ्चालनमा भएको कार्यक्रममा ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष शित्तल जि.टी., एसियन बुद्ध होटलका निर्देशक तिलकराम घिमिरे, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कुमार के.सी. लगायतको उपस्थिति थियो ।
सिद्धार्थनगर नगरपालिका ८ बसडिलवामा रहेको चारतारे एसियन बुद्ध होटलले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij