२०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

चीन भ्रमणामा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्नुपर्दछ : खुश्बु ओली

शुक्रवार , जेठ २९, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • काठमाडौँ, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणामा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ । 

    परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रुपमा राख्नु सचेत गराउनुभएको हो ।

    शुक्रवार प्रतिनिधि सभा बेठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भिर्यतालाई नबुझेको जिकिर गर्नुभयो । उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरुले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनु भयो ।

    प्रमुख सचेतक ओलीले भन्नुभयो,‘दिल्लीको औपचारिक वार्ताहरुमा कहीँ कतै पनि सीमाको विषय उठाउनु भएन । यतिसम्मकी नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तीमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन ।

    भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरुसँग बन्द कोठामा केही कुरा उठाउनु भयो । काठमाडौं फर्केपछि एक प्रेस नोट दिनु भयो । त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन । पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनु भयो ।

    संसदमा पनि उहाँले सीमा विवादको बारेमा कुरा उठाउनु भएन । खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगे पिलरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ । सीमा व्यवस्थापन केही विषय होइन ।

    वार्षिक रुपमा आफैमा हुने कुरा हो । तर नेपाली नक्शाको विषय भने फरक हो । यहाँ रहनु भएका सांसदहरुलाई पनि सीमा व्यवस्थापन र विवाद के हो ? हामीले अध्ययन गर्नुपर्ने आवश्यक्ता छ । विगत ७ वर्षमा सभामुख महोदय नेपालले लेख्ने प्रेस विज्ञप्तीहरुमा सीमाको विवाद जहिले पनि रहन्थ्यो । पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ ।

    यसमा म यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भिर  विषय हो । परराष्टमन्त्रीज्युसँग परराष्ट्रसचिवज्यू, भ्रमणमा जानु भयो । त्यो पनि एउटा कौतुहलताको विषय रहेको छ । परराष्ट्रमन्त्री फेरी पनि चीन जाँदै हुनुहुन्छ ।

    उहाँले जसरी एउटा बन्द कोठामा मिडियामा सशक्त रुपले लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो भनेर भन्नु भयो, त्यो अव उहाँ मित्रराष्ट्र चीनमा जाँदै हुनुहुन्छ । त्यहाँको प्रेस नोटमा, त्यहाँको डिप्लोम्याटिक टेबलमा यी शब्दहरु उच्चाहरण होस भन्ने शुभकामना पनि दिन चाहन्छु ।’

    प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भन्नेकुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कुटनीति संवाद गर्नुपर्ने बताउनु भयो ।