शुक्रवार , जेठ २९, २०८३
पश्चिम नवलपरासी, २९ जेठ । पश्चिम नवलपरासीको जर्गाहस्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालन हुने तालिमहरूलाई थप व्यवस्थित, व्यावसायिक र समयसापेक्ष बनाउन नयाँ व्यवस्थापकीय योजनासहित गृहकार्य सुरु गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार हालै महाविद्यालयको प्रमुखको रूपमा आउनुभएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अजय केसीले मातहतका सम्पूर्ण प्रहरी अधिकृत तथा कर्मचारीहरूसँग छलफल गर्दै तालिम थप व्यवस्थित योजना अघि सार्नुभएको हो ।
प्रहरी युक्ति तालिमलाई अझ बढी प्रभावकारी र वैज्ञानिक कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेर गरिएको उक्त छलफलमा महाविद्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीसहित सम्पूर्ण विभागीय टोलीको सहभागीता रहेको थियो ।
छलफलका क्रममा विद्यालयका नयाँ प्रमुख एसएसपी केसीले कार्यक्षेत्रको बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न सक्ने गरी जनशक्ति तयार पार्न तालिमको स्तर सुधार्नुपर्नेमा जोड दिनुभयो । शान्ति सुरक्षा, दंगा नियन्त्रण र रणनीतिक कौशल जस्ता परम्परागत विधामा दिइने तालिमलाई अझ व्यवस्थित र परिष्कृत बनाउने विद्यालयको योजना छ ।
सो अवसरमा एसएसपी केसीले सम्पूर्ण महाविद्यालय परिवार एकजुट भइ सामूहिक प्रयासबाट तालिमको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मातहतका कर्मचारीहरूबाट तालिम सञ्चालनका क्रममा आइपर्ने व्यावहारिक समस्या र सुधारका पक्षबारे पृष्ठपोषण लिइएको थियो ।
विशेष गरी शिक्षार्थीहरूको कार्यक्षमता बढाउन तालिमको दैनिक तालिका, भौतिक पूर्वाधारको अधिकतम उपयोग र प्रशिक्षकहरूको दक्षता अभिवृद्धि गर्ने विषयमा मातहतका कर्मचारीहरूसँग संवाद भएको छ । यसका साथै यसअघि साईबर ब्यूरोको अनुभव गरिसक्नुभएका एसएसपी केसीको अनुभवलाई समेट्दै फिल्डमा खटिने प्रहरीलाई डिजिटल प्रविधि र आधुनिक सुरक्षा रणनीतिका बारेमा समेत व्यवहारिक ज्ञान दिने गरी तालीम थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij