बिहिवार , जेठ २८, २०८३
भैरहवा, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले फोहोरमैलाको उचित व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकासँग माग राखेको छ । एमालेले लुम्बिनीको प्रवेशद्वार तथा प्रमुख पर्यटकीय एवं व्यापारिक सहर सिद्धार्थनगर नगरपालिका (भैरहवा) को वर्तमान सरसफाईको अवस्थाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार नगरप्रमुख इश्तियाक अहमद खाँलाई ज्ञापन–पत्र बुझाउँदै पार्टीले स्वच्छ, सुन्दर र हरित सिद्धार्थनगरको परिकल्पनाविपरीत पछिल्लो समय नगरका विभिन्न चोक, सडक तथा गल्लीहरुमा थुप्रिएको फोहोरका कारण नगरबासीको जनस्वास्थ्यमा गम्भीर असर देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकारको जिम्मेवारी भएता पनि हाल सिद्धार्थनगर नगरपालिकाले यस विषयमा देखाएको उदासिनता र प्रभावकारी योजनाको अभावले गर्दा नगरबासी दुर्गन्ध र रोगको जोखिममा परेको एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुुर थापाले बताउनुभयो । वर्षायामको सुरुवातसँगै फोहोरको उचित व्यवस्थापन नहुँदा पानीका स्रोतहरु प्रदुषित हुने र महामारी फैलिन सक्ने खतरा समेत बढेको भन्दै अध्यक्ष थापाले चिन्ता व्यक्त गर्नुभयो ।
फोहोरमैलाको व्यवस्थापनमा नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । नगरपालिकाले फोहोरमैलाको व्यवस्थापन गर्न नसके सर्वदलीय÷सर्वपक्षीय बैठक बसेर समाधान निकाल्नुपर्ने उहाँले सुझाव दिनुभयो । स्थानीय सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँले बताउनुभयो । फोहोरको राजनीति एमालेले कहिल्यै नगरेको उहाँको भनाइ छ ।
नगरबासीको स्वास्थ्य र नगरको प्रतिष्ठासँग जोडिएको यो संवेदनशील विषयमा नगरपालिकाले यथाशिघ्र ठोस कदम नचालेमा थप दबाबमूलक कार्यक्रमहरु गर्न बाध्य हुने एमाले सिद्धार्थनगरका सचिव उमेश थापा लाटोमगरले बताउनुभयो ।
ज्ञापन–पत्र बुझेपछि नगरप्रमुख खाँले एमाले सिद्धार्थनगर कमिटीले महत्वपूर्ण विषय उठाएको र राम्रो कामको लागि पहल गरेको बताउनुभयो । उहाँले एक महिनाभित्र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । फोहोरमैलाको विषयलाई कसैले पनि राजनीतिकरण गर्न नहुने उहाँको भनाइ छ । फोहोरमैला व्यवस्थापनका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij