२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

कुलमान भन्छन्– वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

बुधवार , जेठ २७, २०८३

  • 49
    Shares
  • 49
    Shares
  • काठमाडौँ, २७ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गर्नुभएको छ ।

    बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गर्नुभएको हो ।

    २०८४ सालमा स्थानीय तथा प्रदेश सभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने बताउनु भयो । विशेष गरी वागमती प्रदेशमा सरकार बनाउने गरी काम गरिरहेको उहाँको भनाई छ ।

    वागमती प्रदेशका साथै अन्य प्रदेशहरूमा पनि सरकार बनाउने लक्ष्यका साथ काम गर्ने उहाँले बताउनु भयो । पार्टीले बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर संगठन सुदृढीकरण तथा विस्तारको अभियान तिब्र बनाइरहेको उहाँको भनाई छ ।

    अध्यक्ष घिसिङले विगतमा राजनीतिक अनुभवको कमीका कारण आफूहरू षड्यन्त्रमा फसेको उल्लेख गर्दै अब कसैको षडयन्त्रको सिकार नहुने बताउनु भयो ।

    पार्टीको अस्तित्व र पहिचान जोगाउन आफू अन्तिमसम्म लागिरहने उहाँको भनाई छ । अब जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हिजो हामी केही समय अल्मलिऔँ । राजनीति शुरु गरेपछि, राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्दो रहेछ । षड्यन्त्र गर्न पनि जान्नुपर्दो रहेछ । हामी षड्यन्त्र गर्ने परेनौँ, षड्यन्त्रमा फस्यौँ ।

    अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रूपमा, शक्तिको रूपमा जनताको विश्वास कमाएर हामी स्थापित हुनेछौँ । हामी चुनाव हा¥यौँ । आज चुनाव हारेको पार्टी, संसदमा हामी एकजना पनि छैनौँ । तर देशैभरि उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, त्यो त्यसै चलेको छैन, होला ।

    उज्यालो पार्टीको भविष्य देखेर, यसको उद्देश्य देखेर, यसको भिजन देखेर र यसको नेतृत्व देखेर आउनुभएको होला । उहाँहरूको जुन किसिमको विश्वास छ, हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामी निर्वाचनहरूमा र त्यसपछिका निर्वाचनहरूमा उज्यालो नेपाल पार्टीलाई एक नम्बरको पार्टी बनाएर मात्रै हामी विश्राम लिनेछौँ । हिजो चुनाव अगाडि धेरै ठूलो अपेक्षा थियो ।

    तर चुनाव सकिएपछि एउटा पनि सिट जित्न नसक्दाखेरि जुन किसिमको निराशा पैदा भएको थियो, धेरै साथीहरूले उज्यालो नेपाल पार्टी नै कता जाने हो भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो । अब त्यो चिन्तालाई दूर गरिदिनुस्, मैले भनेको छु म एक्लै भएसम्म यो पार्टीलाई अगाडि बढाउनेछु, कुनै पनि पार्टीमा यो गएर मिसिने छैन ।

    यो पार्टीको आइडेन्टिटी, यो पार्टीको जुन पहिचान छ, यो पार्टीले बोकेको सिद्धान्त छ, त्यसलाई हामीले मर्न दिने छैनौँ । यो पार्टीमा धेरै पार्टीका साथीहरू जोडिनुभएको छ, अरू पार्टीहरू मिसिन आउनुभएको छ, एकता गर्न आउनुभएको छ । त्यो एकता र एकीकरणको विषयलाई हामी स्वागत गर्छौँ ।

    तर यो पार्टीको जुन किसिमको हाम्रो पहिचान छ, जुन किसिमको हाम्रो सिद्धान्त छ र एउटा डेलिभरी दिने पार्टी र यो पार्टीमा, पार्टीको जुन नाम र यो पार्टीको जुन सिद्धान्त छ, त्यसलाई निमिट्यान्न पारेर फेरि पनि हिजोको १२ दिन जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन गएको जस्तो त्यो कदापि हुँदैन । अब हामी स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा जाँदैछौँ । करिव एक वर्ष भित्र, एक वर्ष पनि छैन, करिव आठ–नौ महिना भित्र चुनाव आउँदैछ ।

    त्यो चुनावमा अब उज्यालो नेपाल पार्टीले आफ्नो सशक्त प्रतिनिधित्व गर्नेछ र धेरै ठाउँमा हामी जित्नेछौँ । वागमती प्रदेशको सरकार हामीले बनाउनेछौँ ।

    बागमती प्रदेश मात्रै हैन, अरू ठाउँको पनि सरकार बनाउनेछौँ । यो देशको मुटु बागमती प्रदेशलाई केन्द्रमा राखेर हामी हाम्रो पार्टीले संगठन विस्तार गर्ने काम गरिरहेका छौँ ।’

    उहाँले गत निर्वाचनमा पार्टीले चुनाव हारेपनि देशभरि पार्टीमा प्रवेश गर्नेहरूको लहर रहेको दाबी गर्नुभयो । पार्टीको उद्देश्य, भिजन र नेतृत्वप्रतिको विश्वासका कारण मानिसहरू जोडिइरहेको उहाँको दाबी छ । आगामी निर्वाचनमा पार्टीलाई नम्बर एक बनाउने लक्ष्यसहित अघि बढेको उहाँले बताउनु भयो ।