२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

लेबनानमा करिव ३ हजार ५ सय पटक हवाई आक्रमण

बुधवार , जेठ २७, २०८३

  • 31
    Shares
  • 31
    Shares
  • काठमाडौँ, २७ जेठ । गत अप्रिल १७ मा युद्धविराम लागू भए यता इजरायलले लेबनानमा ३ हजार ४ सय ९१ पटक हवाई आक्रमण गरेको लेबनानी रक्षा मन्त्रालयले जनाएको छ ।

    लेबनानका रक्षामन्त्री मिशेल मेनासाले सोमबार आयोजित मन्त्रिपरिषद्को बैठकमा नेशनल न्यूज एजेन्सीलाई उद्धृत गर्दै उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

    मन्त्री मेनासाकाअनुसार गत आईतवार मात्रै इजरायलले ७० पटक हवाई आक्रमण गर्नुका साथै ३३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । यसका साथै, गत मार्च १ देखि हालसम्म लेबनानका सैनिक र सुरक्षा निकायका ४७ जना सदस्यले ज्यान गुमाएको पनि उहाँले जानकारी दिनुभयो ।

    बैठकमा प्रश्तुत गरिएको प्रतिवेदनमा इजरायली सेनाले सर्वसाधारणको बसोबास क्षेत्र, लेबनानी सशस्त्र बल, अन्य सुरक्षा निकाय र संयुक्त राष्ट्रसंघीय अन्तरिम बललाई समेत लक्षित गरी आक्रमण गरेको उल्लेख छ ।

    लेबनानी अधिकारीहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल १७ देखि जुन ७ सम्मको अवधिमा इजरायलले ४०७ वटा भौतिक संरचना ध्वस्त पारेको छ भने ६ पटक जमिन सफा गर्ने (ल्यान्ड–क्लियरिङ) र ६ पटक स्थलगत घुसपैठ गरेको छ । सोही अवधिमा लेबनानमा कुल ३ हजार ५ सय २६ जनाको मृत्यु भएको र १० हजार ७ सय ३३ जना घाइते भएको जनाइएको छ ।

    संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अप्रिल १७ देखि युद्धविराम शुरु भएपनि इजरायली सेना दक्षिण लेबनानमा अझै तैनाथ छ र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँगको भिडन्त जारी राखेको छ । 

    यसैबीच, इजरायली सेनाले सोमबार दक्षिण लेबनानमा आफ्ना सैनिकहरूलाई लक्षित गरी तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । तीमध्ये दुईवटा क्षेप्यास्त्रलाई इजरायली प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरेको र एउटा सैनिक टोली नजिकै खसे पनि कुनै मानवीय क्षति नभएको इजरायलको दाबी छ । 

    कूटनीतिक प्रयासका सन्दर्भमा लेबनानका लागि अमेरिकी राजदूत मिशेल इसाले युद्ध अन्त्यका लागि भइरहेको वार्ता फर्कन नसक्ने बिन्दुमा पुगेको बताउनुभएको छ । विषयवस्तुको जटिलताका बावजुद वार्ता सही दिशामा अघि बढिरहेकोमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    इजरायल र इरानबीच तनाव बढ्दै गएका बेला यी घटनाक्रमहरू सार्वजनिक भएका हुन्। इरानले आइतबार इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पनि इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरी जवाफ दिएको थियो । अमेरिकी संयमताको आह्वानका बावजुद दुई देशबीचको संघर्षले क्षेत्रकै सुरक्षामा चुनौती थपेको छ ।