२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

हावाहुरीले उडायो विभाण्ड यादवको सपना

बुधवार , जेठ २७, २०८३

  • 490
    Shares
  • 490
    Shares
  • भैरहवा, २७ जेठ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका सफल तथा व्यवसायिक कृषकका रूपमा परिचित विभाण्ड यादव यतिबेला गहिरो चिन्तामा डुब्नुभएको छ । सोमबार दिउँसो आएको शक्तिशाली हावाहुरीले उहाँले वर्षौंको मेहनत, लगानी र आशा बोकेको केरा खेतीमा ठूलो क्षति पुर्याएपछि उहाँको सपना नै चक्नाचुर बनेको छ ।

    मर्चवारीमाई गाउँपालिका–१, सुमेरगढस्थित विभाण्ड एकीकृत कृषि फार्ममा लिजमा लिइएको करिब १० बिघा जग्गामा लगाइएको १० हजार केराबोटमध्ये करिब ३ हजार बोट हावाहुरीले ढालेको छ । प्रारम्भिक अनुमानअनुसार मात्रै करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको फार्म सञ्चालक यादवले जानकारी दिनुभयो । ‘अब केही महिनामै बाली भित्र्याएर लगानी उठाउने र आम्दानी गर्ने आशा थियो । तर, एकैछिनको हावाहुरीले सबै सपना उडाइदियो, ’भावुक हुँदै यादवले भन्नुभयो ।

    दोस्रो चरणको उत्पादनका लागि करिब ९ महिनादेखि मेहनतपूर्वक हुर्काइएको केराबाली तीन महिनापछि भित्र्याउने तयारीमा थियो । तर, उत्पादन दिनै लागेको बालीमा क्षति पुगेपछि उहाँ आर्थिक रूपमा समेत ठूलो मारमा पर्नुभएको छ ।

    केराखेतीलाई सुरक्षित राख्न रस्सीले बोट बाँध्ने, अनावश्यक पात हटाउने, नियमित गोडमेल गर्ने तथा आवश्यक स्याहार–सुसारमा कुनै कमी नराखेको यादव बताउनुहुन्छ । तर, प्रकृतिको प्रकोपअघि आफ्ना सबै प्रयास असफल भएको उहाँको गुनासो छ ।

    घटनापछि मर्चवारीमाई गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले कृषि शाखाका प्राविधिकसँग समन्वय गरी वास्तविक क्षतिको मूल्यांकन गरेर किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रयास गरिने बताउनुभयो । ‘हावाहुरीको प्रभाव केरा खेती मात्र होइन, अन्य बोटबिरुवा र तरकारी बालीमा पनि परेको छ । किसानहरू निराश नहुन् भन्ने उद्देश्यले आवश्यक सहयोगका लागि पहल सुरु गरेका छौं,’ अध्यक्ष बरईले बताउनुभयो।

    गाउँपालिका उपाध्यक्ष आशा सिंहले पनि हावाहुरीबाट भएको क्षतिको विवरण संकलन कार्य सुरु गरिएको जानकारी दिनुभयो । प्राकृतिक प्रकोपबाट प्रभावित सबै किसानलाई गाउँपालिकामा जानकारी गराउन आग्रह गर्दै उहाँले भन्नुभयो–‘म अनुगमन समिति संयोजकको हैसियतले सूचना प्राप्त हुनासाथ स्थलगत अनुगमन गरिरहेकी छु । कुनै पनि क्षतिको जानकारी तुरुन्त गाउँपालिकामा गराउन अनुरोध गर्दछु ।’

    गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश यादवले क्षति भएका केराबोटको गणना तथा लागत मूल्यांकनको कार्य सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत प्रतिवेदन तयार गरी गाउँपालिका तथा सम्बन्धित निकायमार्फत राहत र सहयोगका लागि सिफारिस गरिनेछ ।

    एकातिर बढ्दो उत्पादन लागत, अर्कोतिर प्राकृतिक विपत्तिको मारले किसानहरू थप समस्यामा परिरहेका बेला विभाण्ड यादवजस्ता मेहनती कृषकको पीडाले कृषि क्षेत्रमा जोखिम व्यवस्थापन र किसान संरक्षणका प्रभावकारी कार्यक्रमको आवश्यकता झन् उजागर गरेको छ ।