मंगलवार , जेठ २६, २०८३
भैरहवा, २६ जेठ । अपांगता भएका बालबालिकालाई कृत्रिम सहायक सामग्री हस्तान्तरण गरिएको छ । अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना, सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको सहकार्य तथा राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा आयोजित कार्यक्रममा ४० जना बालबालिकालाई निःशुल्क कृत्रिम सहायक सामग्री हस्तान्तरण गरिएको हो ।
सोमबार भैरहवास्थित भीम अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन अभिभावकको साथ आवश्यक रहेकोमा जोड दिनुभयो । गत वैशाखमा अपांगता भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो ।
अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका लेखनाथ आचार्यले स्थानीय सरकारसँग साझेदारीमा काम गर्दै आएको बताउनुभयो । उहाँले विगत ५ वर्षदेखि सिद्धार्थनगर नगरपालिकासँग साझेदारी गर्दै संस्थाले नगरभित्रका बालबालिकालाई उपचार, पुर्नस्थापना, सहायक सामग्री वितरण लगायतका कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले अपांगता भएका बालबालिकालाई निःशुल्क कृत्रिम सहायक सामग्री हस्तान्तरणका लागि रकम सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
