रुपन्देही क्रिकेट संघको महिला सदस्यमा सिद्धार्थनगर नगरपालकाकी उपप्रमुख उमा अधिकारी निर्वाचित, सामाजिक सञ्जालमा आलोचना
मंगलवार , जेठ २६, २०८३
भैरहवा । रुपन्देही क्रिकेट संघको महिला सदस्य पदमा उमा अधिकारी निर्वाचित हुनु भएको छ । सिद्धार्थनगर नगरपालकाकी उपप्रमुख अधिकारी क्रिकेट संघको महिला सदस्यमा उम्मेदवारी दिएको थाह पाएसंगै सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना सुरु भएको थियो ।
भैरहवामा सम्पन्न संघका ५ औं अधिबेशनबाट उपप्रमुख अधिकारीले ७७ मत प्राप्त गर्दै महिला सदस्य पदमा विजय हासिल गर्नुभयो । स्थानीय तहको उपप्रमुख जस्तो पदमा बाहल व्यक्तिले महिलाका लागि छुट्याइएको कोटामा उम्मेदवारी दिनु उचित नभएको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले महिला नेतृत्व प्रवद्र्धनका लागि राखिएको आरक्षित पदमा राजनीतिक तथा सार्वजनिक पदमा स्थापित व्यक्तिको उम्मेदवारीले खेल क्षेत्रमा अवसर खोजिरहेका अन्य महिलाहरूलाई पछाडि पार्ने काम गरेको टिप्पणी गरेका छन् । अर्कोतर्फ खेल क्षेत्रको समग्र बिकासको नेतृत्व गर्न सक्ने हैसियतमा रहेका व्यक्तिको सोचले क्रिकेट प्रमिलाई निरासा बनाएको बताएका छन् ।
अधिकारीसंग संगै अध्ययन गरेका सहपाढी तथा पत्रकार नरेश केसीले सामाजिक संजाल फेसबुकमार्फत आलोचनात्मक टिप्पणी गर्नु भएकोे छ । मतगणना चल्दै गर्दा उहाँले फेसबुकमा लेख्नुभयो ‘रुपन्देहि क्रिकेट संघमा नया नेतृत्वकोलागि हरि थापा र शक्ति गौचनबिच कडा प्रतिसपर्धा देखियो । नेतृत्वमा प्रतिसपर्धा हुनु स्वभाविक हो । दुबैजनालाई शुभकामना । १२२ जना मतादाता रहेको संघको महिला सदस्य बन्न स्थानिय सरकारको उपप्रमुख उमा अधिकारि प्रतिसपर्धि भएको देखेर म साच्दैछु ! उमा जि किन यो पदमा किन लालयित हुनभयो ?, कसले यस्तो सल्लाह दियो होला ? उहाँ त सरकारको उपप्रमुख हो । उहाँकोलागि सदस्य पद उपयुक्त होईन । यदि उहाँ सदस्य नै बन्न थियो भने खुल्ला पदमा उमेदवार हुनुपथ्र्योे । महिला सदस्य एक पदमा उहाँको कारण एकजना महिला नेत्तृत्व विकासबाट पछाडि पर्ने भईन । उहाँकोलागि सुहाउने पद सल्लाहकार हो । जुन पछि निर्वाचित समितिले मनोनित गरे हुने । सँगै पढेको सहपाठिको नाताले यति दुस्साहस गरे ।’
कतिपयले महिलाको सहभागिता बढाउने उद्देश्यले व्यवस्था गरिएको कोटाको मर्ममाथि नै प्रश्न उठेको बताएका छन् भने कतिपयले पदको गरिमा बिर्षिएको टिप्पणी गरेका छन् । आलोचकहरूका अनुसार खेल क्षेत्रमा लामो समयदेखि सक्रिय रहेर अवसरको प्रतीक्षामा रहेका महिलाहरूलाई नेतृत्वमा ल्याउनु पर्ने अवस्थामा प्रभावशाली सार्वजनिक पदमा रहेकी व्यक्तिको प्रवेशले अर्को प्रतिभावान महिलाको अवसर खोसिएको सन्देश गएको छ ।
रुपन्देही क्रिकेट संघको निर्वाचन परिणाम सार्वजनिक भएसँगै महिला प्रतिनिधित्व, समावेशिता र अवसरको न्यायोचित वितरणबारे नयाँ बहस सुरु भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
