२०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सबै मिलेर नेपाली क्रिकेटलाई माथि लैजानुपर्छ : अध्यक्ष चन्द

मंगलवार , जेठ २६, २०८३

  • 172
    Shares
  • 172
    Shares
  • भैरहवा, २६ जेठ । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले सबै मिलेर नेपाली क्रिकेटलाई माथि लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाँले यसका लागि योगदानसँगै त्याग पनि आवश्यक रहेको बताउनुभयो ।
    रुपन्देही क्रिकेट संघको ३० औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनको सोमबार भैरहवामा उद्घाटन गर्नुहुँदै अध्यक्ष चन्दले पछिल्लो समय संसारले क्रिकेट खेलमार्फत नेपाललाई चिनेको बताउनुभयो ।

    ‘नेपालको क्रिकेटको उचाई धेरै माथि पुगेको छ । केन्द्रदेखि कुनै जिल्लालाई पनि पछाडी फर्कने सुविधा छैन । क्रिकेटमा योगदान गर्छु भन्ने चासो व्यक्त गर्नुलाई स्वभाविक रुपमा लिनुपर्छ, ’उहाँले भन्नुभयो । अध्यक्ष चन्दले खेल्ने मैदान नभएको ठाउँमा क्रिकेट धेरै माथि पुग्न नसक्ने बताउनुभयो ।

    ‘नेपाली क्रिकेटलाई उचाई दिन यहाँहरु निस्वार्थ रुपमा यहाँहरु लाग्नुभएको छ । त्यसले एउटा नतिजा दिएको छ । यहाँहरुको गतिविधिका कारण रुपन्देही क्रिकेट संघ पहिला पनि नम्बर १, अहिले पनि र पछि पनि एक नम्बर रहनेछ । कसैलाई पनि यो भन्दा तल पु¥याउने सुविधा छैन । कहीकतैबाट नेपाली क्रिकेटलाई अफ्ठयारो पनर्ने काम भएको छ जस्तो लाग्दैन, ’उहाँले भन्नुभयो ।

    ४५ जिल्लामध्ये १ सय भन्दा बढी सदस्य संख्या भएको रुपन्देही क्रिकेट संघ मात्रै भएको उहाँले बताउनुभयो । क्रिकेटप्रति चासो हुनु, मिहिनेत गर्नु र क्रिकेटलाई राम्रो गर्छु भन्ने भावनालाई सकारात्मक रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । क्रिकेटको विकासले आर्थिक क्षेत्रमा पनि योगदान पु¥याउने अध्यक्ष चन्दको भनाइ छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सिद्धार्थ क्रिकेट रंगशालाको पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक रहेको बताउनुभयो । उहाँले पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिद्धार्थ क्रिकेट रंगशालाको स्तरोन्नतिका पदमा हुँदा प्रत्येक पटक बजेट विनियोजना गर्नुभएको बताउनुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले क्रिकेट शुभचिन्तकहरुको सहयोगले खेलाडीलाई अघि बढाउन मद्दत पुगेको बताउनुभयो । ्संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले रुपन्देही क्रिकेट संघ उत्कृष्ट संस्थाको रुपमा अघि बढेको बताउनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।