२०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

लुम्बिनी प्रहरीको ‘अपरेशन तस्करी नियन्त्रण’, ४३ लाखभन्दा बढीका सामान नियन्त्रण

सोमवार , जेठ २५, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, २५ जेठ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्ति सुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ । खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया र दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

    सीमा क्षेत्रबाट हुने भन्सार छली, अवैध सामान ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानअन्तर्गत जेठ २५ गते बिहान बर्दियामा ४३ लाख ६१ हजार आठ सय ४० रुपैयाँ अवैध सामान तथा सवारीसाधन बरामद गरिएको छ ।

    प्रहरीका अनुसार बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको थियो । भारतको बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानलाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट दुईवटा बोलेरो गाडी, एउटा पल्सर मोटरसाइकल तथा ३ हजार ७ सय ९० दर्जन केरा बरामद गरिएको थियो । उक्त सामान तथा सवारीसाधनको अनुमानित मूल्य रु २५ लाख ५९ हजार रहेको प्रहरीले जनाएको छ ।

    आज बिहानको अर्को अप्रेसनमा मधुवन नगरपालिका–६ मा भारतबाट अवैध रूपमा भित्र्याइ गोदाममा लुकाइ राखिएको मटर, सुपा री, सुर्ती, चुरोट, बीडी, माउथ फ्रेसनर, प्लाष्टिकलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। पदमराज चौधरी र कोपिला खत्रीको घरमा भण्डारण गरिएको अवस्थामा फेला परेका ती सामानको अनुमानित मूल्य १८ लाख २ हजार ८ सय ४० रुपैयाँ बराबर रहेको छ ।

    बरामद गरिएका सबै सामान तथा सवारीसाधन आवश्यक अनुसन्धान र कानूनी कारवाही अगाडी बढेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका लुम्बिनीले जनाएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले प्रदेशभर सुशासन, शान्ति सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय सुधार ल्याउन प्रहरी प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले सीमा क्षेत्रमा हुने तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले अपराध नियन्त्रणसँगै आर्थिक अपराध रोकथाममासमेत प्रहरी केन्द्रित रहेको जानकारी दिनुभयो ।

    यसैबीच प्रहरीको सक्रिय अभियानप्रति स्थानीय समुदायले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले डीआईजी खत्रीको नेतृत्वमा प्रदेशमा शान्ति सुरक्षा कायम गर्न, चोरी–तस्करी नियन्त्रण गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रहरीले प्रभावकारी भूमिका खेलेको बताउनुभयो। उहाँले अवैध कारोबार नियन्त्रण हुँदा वैध व्यवसाय संरक्षण हुने र राज्यको राजस्वसमेत वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सीमा क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान आगामी दिनमा अझ सशक्त बनाइने जनाएको छ । प्रहरीले नागरिकको सहयोग र सूचनाको आधारमा अवैध गतिविधिविरुद्ध कारबाहीलाई थप तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।