२०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

भारतको सहयोगमा १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

सोमवार , जेठ २५, २०८३

  • 400
    Shares
  • 400
    Shares
  • काठमाडौं, २५ जेठ । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । संस्थाले आइतबार पत्रकार सम्मेलनमार्फत ‘शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

    संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट तथा दार्चुला जिल्लामा अध्ययनरत गरिब, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनेछ ।

    कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, अंग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्याप लगायतका सामग्री प्रदान गरिने जनाइएको छ।

    २०७५ साल फागुन १५ गते चितवनमा स्थापना भएको सेवा र विकासका लागि युवा सामाजिक तथा सेवामूलक संस्था हो । संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, विपद्का समयमा राहत तथा उद्धार कार्य, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाई अभियान तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको संस्थाले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कंडेलले विद्यार्थी राष्ट्रका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले दुर्गम तथा आवश्यकता भएका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

    संस्थाका अनुसार उक्त शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो । भारतले नेपालको शिक्षा क्षेत्रमा छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय स्थापना, छात्रावास निर्माण तथा विद्यालय बस उपलब्ध गराउनेलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सेवा र विकासका लागि युवाले उक्त सहयोगका लागि भारत सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

    संस्थाले कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघ–संस्था तथा सरोकारवाला सबै पक्षसँग सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको जनाएको छ ।