२०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बुटवलबाट ३५ वर्षीया महिला सम्पर्कबिहीन, परिवारद्वारा खोजीको अपील

सोमवार , जेठ २५, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • बुटवल, २५ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९, कालिकानगर संयुक्त पथमा बस्दै आउनुभएकी ३५ वर्षीया प्रतिमा थापा जेठ ५ गतेदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ । बेपत्ता प्रतिमाका श्रीमान प्रेम थापाले खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएका छन् भने उहाँको अवस्थाबारे जानकारी भए सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

    पर्वत जिल्लाकी स्थायी बासिन्दा प्रतिमा थापा केही वर्षदेखि श्रीमान र दुई नाबालक सन्तानसँग बुटवल–९ कालिकानगरस्थित संयुक्त पथमा बस्दै आउनुभएको थियो । परिवारका अनुसार उहाँ जेठ ५ गते घरबाट निस्कने क्रममा आमालाई ‘म चामल लिएर आउँछु, तपाईं बाबु–नानी लिएर आउनु’ भनेर बाहिरिनुभएको थियो । त्यसयता उहाँ परिवारको सम्पर्कमा आउनुभएको छैन ।

    प्रतिमाका श्रीमान प्रेम थापाले श्रीमती अचानक सम्पर्कविहीन भएपछि आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । ‘हामीले सुरुमा आफन्त र चिनेजानेका ठाउँहरूमा खोजी गर्यौं । कतै सम्पर्क हुन सकेन । अहिले साना छोराछोरी आमाको प्रतीक्षामा छन्,” प्रेम थापाले भन्नुभयो । उहाँले श्रीमतीको अवस्थाबारे कुनै जानकारी भए आफू वा प्रहरीलाई खबर गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

    श्रीमान थापाले घटनाबारे इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरमा निवेदन दिई खोजीका लागि अनुरोध गर्नुभएको छ । उहाँका अनुसार परिवार अहिले अन्योल र चिन्ताको अवस्थामा रहेको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले पीडित परिवारबाट प्राप्त निवेदनका आधारमा अनुसन्धान तथा खोजी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । ‘परिवारले दिएको विवरणका आधारमा आवश्यक अनुसन्धान र खोजी कार्य भइरहेको छ,’उहाँले भन्नुभयो । परिवारका सदस्यहरूले प्रतिमा थापाको अवस्थाबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

    घटनाले परिवारका सदस्य मात्र होइन, छिमेकी र आफन्तलाई समेत चिन्तित बनाएको छ । विशेष गरी दुई नाबालक सन्तान आमाको अभावमा भावनात्मक रूपमा प्रभावित भएको परिवारको भनाइ छ ।