सोमवार , जेठ २५, २०८३
भैरहवा, २५ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सिद्धार्थनगर, रुपन्देहीले कविता वाचन प्रतियोगिता आयोजना गरेको छ । आइतबार सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित चेम्बर अफ कमर्स, रुपन्देहीको सभाहलमा आयोजित प्रतियोगितामा १७ वटा विद्यालयको सहभागीता थियो ।
प्रतियोगितामा कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिनुभयो । अध्यक्ष मल्लिकका अनुसार ‘मेरो देश, मेरो गौरव’ विषयमा विद्यार्थीहरुले कविता वाचन गरेका थिए । विद्यार्थीहरुमा रहेको भाषिक क्षमताको विकास र उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा युनिभर्सल पब्लिक स्कूलको आरती चापागाई प्रथम, यूरो टाईनी टडलर्सको उत्सव के.सी. द्वितीय, आर्य पब्लिक स्कूलको समृद्धि खड्का तृतीय र न्यू ईरा इङ्लिस बोर्डिङ स्कूलको प्रकृति बरुवाल तृतीय भएको प्याब्सन सिद्धार्थनगरले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलले यस्ता कार्यक्रमले विद्यार्थीहरुले आफूभित्र रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउने बताउनुभयो । उहाँले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देहीका कोषाध्यक्ष एवं मन्टेश्वरी मेमोरियल हाई स्कूलका अध्यक्ष धिरज कुमार मल्लिकले प्याब्सन सिद्धार्थनगरले शैक्षिक क्षेत्रको विकाससँगै खेलकुद र विभिन्न अतिरिक्त क्रियाकलापलाई अघि बढाउनु सराहनीय रहेको बताउनुभयो ।
प्रतियोगिताका निर्णायक डिल्लीराज भट्टराईले प्याब्सन सिद्धार्थनगरले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताउनुभयो ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, कार्यक्रम संयोजक एवं प्याब्सन सिद्धार्थनगरका कार्यसमिति सदस्य धर्मेन्द्र कुमार मिश्राको स्वागत तथा कोषाध्यक्ष दिपेन्द्र कुमार मल्लिकको सञ्चालनमा भएको कार्यक्रममा टीकाराम भट्टराई, निकेशदेव हटुवाल, प्रतिष्ठा चालिसे, प्रतिक मल्ल, राजेश कुमार चौधरीलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा निर्णायकको भूमिकामा डिल्लीराज भट्टराई र देवी प्रसाद न्यौपाने रहनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
