सोमवार , जेठ २५, २०८३
भैरहवा, २५ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले शैक्षिक सत्र २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण ३९ जना विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । वडामा स्थायी बसोबास गर्ने विद्यार्थीहरुलाई आइतबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच साईकल वितरण गरिएको हो ।
एसईईमा चार जीपीए ल्याउने आर्यन चौरसियासहित ३९ जना विद्यार्थीहरुलाई साईकल वितरण गरिएको सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताउनुभयो । उहाँले गत वर्ष पनि यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका यादवले आगामी वर्ष वडा नम्बर ४ बाट एसईईमा ३.७५ जीपीए ल्याउने विद्यार्थीहरुलाई ल्यापटप पुरस्कार प्रदान गरिने बताउनुभयो । वडा कार्यालयको टीमले शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी नन्द प्रसाद गुरुङले साईकल पाउनुभएका विद्यार्थीहरुलाई बधाई दिदै उज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रम संयोजक तथा वडा सदस्य हरि बहादुर के.सी.ले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले प्लस टु उत्तीर्ण विद्यार्थीहरुलाई पनि प्रोत्साहनका लागि कार्यक्रम गर्ने सोच रहेको बताउनुभयो ।
कार्यक्रममा फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ, मनकामना इङ्लिस बोर्डिङ स्कूलका संस्थापक प्राचार्य जीवन बस्नेत, श्री बुद्ध सामुदायिक सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका ४, ६, १० र ११ का अध्यक्ष श्रीचन्द जयसवाल लगायतले वडा कार्यालयले धेरै राम्रो काम गरेको बताउनुभयो ।
वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को अध्यक्षता, कार्यक्रम संयोजक एवं वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा समाजसेवी अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
