२०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा

आइतवार , जेठ २४, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • पाल्पा,२४ जेठ । पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा नेपालकै पहिलो पटक बन्न लागेको ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटीस्) आर्च’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

    निर्माणाधिण पुल असारभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँकाअनुसार ९० प्रतिशत पुल निर्माणको काम सकिएको छ ।

    पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र डेक कन्क्रिटिङ तथा केही सहायक संरचनाको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्षको अन्त्यसम्म पुल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उहाँको भनाई छ ।

    महानिर्देशक डा. जैसीकाअनुसार राम्दी क्षेत्र सिद्धार्थ राजमार्गको रणनीतिक महत्वको बिन्दु हो । उक्त पुल जलविद्युत आयोजनाका भारी उपकरण ढुवानी तथा राष्ट्रिय सडक सञ्जालका लागि समेत महत्वपूर्ण रहेको छ । पुरानो पुलमा कम्पन (भाइब्रेसन) सम्बन्धी समस्या देखिएपछि नियमित मर्मत गरिएपनि दीर्घकालीन समाधानका लागि नयाँ पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । नयाँ पुल डिजाइन एण्ड बिल्ड ठेक्का प्रणालीमार्फत निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायीले प्रश्तुत गरेको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च डिजाइन स्वीकृत गरी काम अघि बढाइएको उहाँको भनाई छ । यो प्रविधि विशेषगरी चीनमा व्यापक रूपमा प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार पुलले करिब १०० टनसम्मको समग्र भार वहन गर्नसक्ने क्षमता राख्नेछ । नेपालमा यस प्रकारको भर्टिकल ह्याङ्गरयुक्त कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च पुल पहिलोपटक निर्माण भइरहेको उहाँको भनाई छ । यसअघि मुग्लिङ र काठमाडौंको बिजुलीबजारमा विभिन्न प्रकारका आर्च पुल बने पनि सिएफएसटी प्रविधिमा आधारित पुल भने राम्दीमै पहिलो निर्माण हुन लागेको उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘यो राम्दी भन्ने ठाउँ यो सिद्दार्थ राजमार्गको पहिलेदेखि कै असाध्यै महत्वपूर्ण पोइन्ट छ । हाइड्रोपावरका सामानहरु सार्नलाई, हाम्रो रोडको लागि पनि यो महत्वपूर्ण पुल थियो । यो पुरानो पुलमा केही वर्ष यता अलि भाइब्रेसनको समस्या देखियो । भाइब्रेसनको समस्या देखिएपछि हामीले यसलाई मर्मत पनि गरिराखेका छौँ ।

    यसको अलावा नयाँ पुल बनाउनुपर्छ भनेर हामीले नयाँ पुल बनाउन थालेको हो । पुल बनाउनलाई हामीले डिजाइन एण्ड बिल्ट ठेक्का प्रणालीबाट ठेक्का ग¥यौं । त्यसमा निर्माण व्यवसायीले यो अलिकति नौलो प्रकारको, यो सिएफएसटी भन्ने कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च भन्ने डिजाइन ल्याउनुभयो । हामीले त्यसलाई सहर्ष स्वीकार गरी स्वीकृति दिएर अहिले यो निर्माणाधीन छ ।

    यसलाई आर्च पुल भनिन्छ, यो एकदमै स्टेबल, बलियो मानिन्छ । उही स्पानको लम्बाईको लामो पुल बनाउनु भयो भने त्यो बलियो हुँदैन तर त्यसलाई आर्च सेप दिएमा त्यो बलियो हुन्छ । यसको आफ्नो ज्योमेट्रीले नै यसलाई बलियो बनाएको हुन्छ । आर्चमा पनि यो बिशेष खालको छ, चीनमा यसको धेरै प्रयोग भईरहेको छ ।

    यसको मेन डेभलपमेन्ट नै चीनमा भएको हो । यस्ता पुल हाम्रो नेपालमा पनि उपयुक्त हुन्छ । यसको भौतिक प्रगति अहिले करिब ९० प्रतिशतको हाराहारीमा छ ।

    यसको माथिको डेकको काम अलिकति बाँकी रहेको छ । यो डेक कन्क्रिटिङ भएपछि यो आर्थिक वर्षको अन्तिमसम्म हामीले पुललाई चलाउने कोसिस गर्छौंं । लोड थाम्ने क्यापासिटी यसको सबै अरु पुल बराबरै हो । हाम्रो चाहीँ यो इन्डियन रोड स्टान्डर्डअनुसारको पुल हो, एक्सेल लोड १० टन, हाम्रो अर्डिनरी एक्सेल लोडको लागि र ओभरअल लोड १०० टन ।

    त्यो रेन्जको यसको लोडिङ विभिन्न कम्बिनेसनहरु हुन्छ । यो असार भित्र पुल सम्पन्न गरेर सञ्चालन गर्ने तयारी गरेका छौँ । यो भर्टिकल ह्याङ्गर भएको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च हो, नेपालको लागि यो पहिलो पल्ट यस्तो आर्च बन्दैछ ।’

    १२५ मिटर स्पान रहेको पुलमा स्टिल ट्युबभित्र कन्क्रिट भरिने प्रविधि अपनाइएको छ । कन्क्रिट जमिसकेपछि स्टिल र कन्क्रिट एकीकृत भई बलियो संरचना तयार हुने तथा पुलको सम्पूर्ण भार दुवै किनारका एबटमेन्टमा स्थानान्तरण हुने डिजाइन रहेको विभागले जनाएको छ ।