शनिवार , जेठ २३, २०८३
भैरहवा, २३ जेठ । ढुवानी व्यवसायी महासंघ–नेपालका केन्द्रीय अध्यक्ष माधवप्रसाद नेपालले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनु अव्यवहारिक भएको बताउनुभएको छ । उहाँले यसमा सरकारले पुर्नविचार गर्नुपर्ने माग गर्नुभयो ।
ढुवानी व्यवसायी संघ, लुम्बिनी ओमसतिया–२, पडसरी, रुपन्देहीले भैरहवामा आयोजना गरेको प्रथम व्यवसायी भेला तथा सम्माान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । ‘ढुवानी सेवा हो, यसमा भ्याट लगाउनु अव्यवहारिक छ । यसमा पुर्नविचार गर्नुपर्छ भनेर विगतदेखि नै सरकारसँग माग राख्दै आएका छौं । भ्याट लगाउनुहुँदैन भन्ने सरकारसँग पुनः माग गर्दछौं, ’उहाँले भन्नुभयो ।
सबै क्षेत्रमा रहेका ढुवानी व्यवसायीलाई व्यवस्थित र मर्यादित रुपमा लैजाँदै व्यवसायीको हकहितका लागि अगाडि बढ्नुपर्छ भनेर विगतदेखि नै लागेको उहाँले बताउनुभयो । ‘विभिन्न आरोह–अवरोहकाबीच यहाँसम्म आइपुगेका छौं । यहाँहरुले गरेको कामलाई ढुवानी व्यवसायी महासंघ–नेपालले सकारात्मक रुपमा लिएको छ । हातेमालो गरेर व्यवसायिक हकहितमा लाग्न म अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो । सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतमले ढुवानी व्यवसायीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले ट्रक र ढुवानी व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । ‘यहाँहरुको रचनात्मक काममा हाम्रो सदैव साथ र सहयोग रहन्छ, ’उहाँले भन्नुभयो ।
संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद खरेलले ढुवानी व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राज्यले तोकेको भन्दा बढी भाडा व्यवसायीले नचाहेको बताउनुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले काम गर्ने मान्छेलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताउनुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव वसन्त खड्काले यातायात क्षेत्रमा रहेका समस्या समाधान गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
ढुवानी व्यवसायी संघ, लुम्बिनीका सल्लाहकार रामकृष्ण लोहनीले व्यवसायीबीच स्वच्छ प्रतिष्पर्धा र एकता आवश्यक रहेको औल्याउनुभयो ।
संघका सल्लाहकार लोकराज पोखरेलले ढुवानी व्यवसायी संघ, लुम्बिनी सामाजिक कार्यमा पनि अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रममा ढुवानी व्यवसायी संघ, लुम्बिनीका अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष विक्रम पन्थीकोे स्वागत तथा महासचिव रामनारायण ठाकुर (मुन्ना) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
