२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कुलमानको दाबी– रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन, अबको विकल्प हाम्रो पार्टी हो

शुक्रवार , जेठ २२, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौँ, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताउनुभएको छ । 

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरुले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गर्नुभएको हो ।

    अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरुको रहेपनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

    उहाँले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भईरहे प्रतिवादमा उत्रने चेतावनी समेत दिनुभयो । अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रुपमा आफनो पार्टीलाई लिएको दाबी समेत गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘पुराना पार्टीका धेरै साथीहरु उज्यालो नेपाल पार्टीप्रति आकर्षित भएर आउँदै हुनुहुन्छ । र नयाँ पार्टीका साथीहरु पनि, पार्टीहरु पनि हामीसँग जोड्दैछौ । अब यो जुन हिसावले नेपाली जनताले एउटा सशक्त विकल्पको रुपमा नयाँ विकल्पको रुपमा पुरानाको प्रतिस्थापन गरेर नयाँलाई दुई तिहाइको मत दिएको छ ।

    यो अव दुई महिनामा यो दुई तिहाई मत दिएको सरकारको जुन किसिमको कार्य नेपाली जनताले देखेका छन । हामीले हेरेका छौँ–त्यो पार्टीबाट पनि नेपाली जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने हामीलाई विश्वास लागेका छैन ।

    हाम्रो लागि यो सरकार राम्रोसँग सफल होस भन्ने कामना हो । किनभने नेपाली जनताले सधै परिवर्तन खोजेको छ । परिवर्तनको लागि यत्रो ठूलो दुई तिहाई मत दिएको छ । यो सरकार सफल होस, हरेक क्षेत्रमा सफल होस भन्ने हाम्रो सुझाव पनि रहेको छ ।

    तर सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौ । त्यसको प्रतिवाद गर्छौं । र उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेका जनताको समस्याहरु बोकेर अघि बढ्छ । र नेपालको सशक्त पार्टीको रुपमा विकास गर्दैछौँ ।’

    अध्यक्ष घिसिङले सरकारले विद्युतमा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्न चाहेको पनि बताउनु भयो ।