शुक्रवार , जेठ २२, २०८३
इलाम, २२ जेठ । विश्व वातावरण दिवस २०२६’ को अवसरमा लुम्बिनी वल्र्ड पिस फोरमको आयोजना र इलाम नगरपालिकाको समन्वयमा शुक्रबार इलाममा विशेष वृक्षारोपण कार्यक्रमसम्पन्न भएको छ ।
’हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा इलामको प्राकृतिक सौन्दर्य र सहरी पर्यावरणलाई थप आकर्षक बनाउन विभिन्न प्रजातिका ८ सय थान शोभायमान विरुवाहरू रोपिएका छन् ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपप्रमुख विष्णु दाहाल, विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र वातावरण संरक्षणकर्मीहरूको उपस्थिति थियो ।
इलामलाई थप हरियाली र सुन्दर बनाउने अभियानअन्तर्गत आजको विशेष दिनमा ४ सय थान असारे, २ सय थान कल्की र २ सय थान बेगमबेली (बोगनभिलिया) जस्ता आकर्षक फूल फुल्ने सजावटी विरुवाहरू इलामका विभिन्न सार्वजनिक स्थल, सडक किनारा र हरित क्षेत्रहरूमा रोपिएको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो ।
अध्यक्ष गौतमका अनुसार पर्यावरणीय सन्तुलन र संस्थागत सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित यस अभियानमा विभिन्न वित्तीय संस्थाहरूले महत्वपूर्ण सहयोग पुर्याएका छन् । जसअन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३ सय, कुमारी बैंक लिमिटेडले ३ सय विरुवा र मुक्तिनाथ विकास बैंक लिमिटेडले २ सय विरुवा बराबरको सहयोग उपलब्ध गराएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बासु गौतमले वृक्षारोपणको महत्व र आफूहरूले देशव्यापी रूपमा सञ्चालन गरिरहेको यस अभियानको उद्देश्य प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘जलवायु परिवर्तनको तीव्र असरका कारण हाम्रो हिमाल, वन र पर्यावरण संकटमा पर्दै गएका छन् । वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभएर हाम्रो पृथ्वी र भावी पुस्ताको अस्तित्व रक्षा गर्ने महाअभियान हो । हाम्रो यस अभियानको मुख्य ध्येय प्राकृतिक सन्तुलन कायम राख्दै हरित र दिगो समाजको निर्माण गर्नु हो र यसका लागि हरेक नागरिक तथा निकाय जिम्मेवार बन्नुपर्छ ।’
त्यस्तै इलाम नगरपालिकाका प्रमुख केदार थापाले वातावरण दिवसको दिन लुम्बिनी वल्र्ड पिस फोरमले इलामलाई रोजेर यति ठूलो संख्यामा वृक्षारोपण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । नगर उपप्रमुख विष्णु दाहालले रोपिएका विरुवाहरूको संरक्षण र सम्वद्र्धनमा स्थानीय समुदाय र नगरपालिकाले पूर्ण ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी वल्र्ड पिस फोरमले विगत लामो समयदेखि जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र नेपालभरी पर्यावरण संरक्षणका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको छ । आजको यस वातावरण दिवसको विशेष अभियानले इलामको प्राकृतिक सौन्दर्य र दिगो वातावरणमा थप टेवा पुग्ने आयोजकको विश्वास छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
