२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

भन्सार एजेन्ट र सुरक्षाकर्मीलगायत सरोकारवालासँग अन्तरक्रिया गोष्ठी सम्पन्न

शुक्रवार , जेठ २२, २०८३

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, २२ जेठ । क्वारेन्टाइन कार्यालय, भैरहवाले भन्सार एजेन्ट र सुरक्षाकर्मीलगायत सरोकारवालासँग अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । बिहीबार बेलहियास्थित कार्यालयको सभाहलमा उक्त कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा कार्यालय प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत सहसराम चौधरी (कुर्मी)ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाले प्लान्ट क्वारेन्टाइन तथा क्वारेन्टाइन कार्यालय भैरहवाको संक्षिप्त जानकारी, विरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ तथा विरुवा क्वारेन्टाइन तथा संरक्षण नियमावली, २०६६ मा भएको व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा बोल्नुहुँदै वरिष्ठ बाली संरक्षण अधिकृत चौधरीले क्वारेन्टाइनको महत्व अझै बढ्दै गएको बताउनुभयो । उहाँले पहिलाको क्वारेन्टाइन र अहिलेको क्वारेन्टाइनमा धेरै फरक रहेको बताउनुभयो । कार्यालयबाट प्रवाह हुने सेवाबारे कुनै गुनासो भइ तत्काल जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । ‘अनाहकमा कार्यालयले कसैलाई पनि दुःख दिदैन । उहाँले भन्नुभयो –‘सेवाग्राहीलाई दुःख दिने कुनै मनसाय छैन ।’ उहाँले आइतबार कार्यालय सञ्चालन भइरहेको र शनिबार सञ्चालन गर्न माथिल्लो निकायमा पहल गरिने जानकारी दिनुभयो । 

    त्यस्तै क्वारेन्टाइन कार्यालय, भैरहवाका बाली संरक्षण अधिकृत प्रशान्त चौधरीले प्लाण्ट क्वारेन्टाइन नियमन प्रक्रियासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष कुमार न्यौपानेले सकेसम्म कार्यालयबाट प्रदान गरिने सेवालाई अझ छिटोछरितो बनाउन प्रयासरत रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन क्वारेन्टाइन कार्यालय, भैरहवालाई आग्रह गर्नुभयो ।

    नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका महासचिव विष्णु प्रसाद भुसालले क्वारेन्टाइन र भन्सार कार्यालयबीच अन्तरसम्बन्ध रहेको बताउनुभयो । उहाँले प्रविधिको अधिकतम प्रयोग गरी सेवालाई सरल र छिटोछरितो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यालयको सेवा शनिबार पनि प्रदान गर्न माथिल्लो निकायमा पहल गर्न उहाँले आग्रह गर्नुभयो ।

    nnnnnnnnn.JPG

    कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बेलहियाका पशु चिकित्सक डा. सन्तोष यादव, क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षण अधिकृत एवं कार्यक्रम संयोजक राजेन्द्र भट्टराई, कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमाशंकर पाठकलगायतले बोल्नुभएको थियो ।