२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

मानव बेचबिखनको वर्तमान अवस्था, समस्या र चुनौतीबारे छलफल

बिहिवार , जेठ २१, २०८३

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २१ जेठ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पालिका स्तरीय समिति बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । मानव बेचबिखनको वर्तमान अवस्था, समस्या र चुनौतीका बारेमा बैठकमा छलफल भएको थियो ।

    बैठकमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा उहाँले नेपालमा महिला तथा बालबालिकाको बेचबिखन स्थिति, सञ्चालन भइरहेका मुख्यमुख्य क्रियाकलापहरु, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक, माइती नेपाल भैरहवाको तथ्यांकको विषयमा जानकारी गराउनुभएको थियो ।

    बैठकमा उमेर समूह, जातीय समस्या, घरबाट हिंड्नुका मुख्य कारणहरु, समस्या र चुनौतीहरु समाधानका उपायहरुका बारेमा पनि प्रस्तुतीकरणसहित छलफल भएको थियो ।

    बैठकमा मानव बेचबिखन नियन्त्रणका लागि माइती नेपालद्वारा सञ्चालित परियोजनाबारे जानकारी, स्थानीय रुपमा सञ्चालित मसाज सेन्टर लगायतका क्षेत्रबाट हुन सक्ने जोखिम न्यूनीकरण सम्बन्धी उपायहरु, घरेलु हिंसा सम्बन्धी समस्याका कारण घर छाडेर हिड्नेहरुको संख्या घटाउने उपायहरु, असुरक्षित वैदेशिक रोजगारका कारण हुने ओसारपसार नियन्त्रण, सामाजिक सञ्जालको प्रयोगबाट हुने जोखिमबाट बच्ने उपायहरुका बारेमा छलफल भएको थियो।

    बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ, नगरपालिकाको वरिष्ठ शिक्षा शाखा अधिकृत जानह्वी पाण्डे, सामाजिक शाखा प्रमुख लक्ष्मण गिरी, महिला तथा बालबालिका शाखा प्रमुख कौशिल्या चौधरी, कृषि शाखा प्रमुख योगेन्द्र यादव, पत्रकार शंकर पाण्डे, वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक मान बहादुर बिसी लगायतको उपस्थिति थियो ।