
सोमवार , बैशाख २७, २०७८
बुटवल, २७ वैशाख ।
कोरोना संक्रमितको उपचारमा रहेको अक्सिजनको अभाव पूर्तिका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायिक संघ-संस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् ।
पछिल्लो समय बजारमा देखिएको अक्सिजन सिलिण्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिण्डरहरु संकलन गरी प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५५० वटा अक्सिजनका सिलिण्डरहरु संकलन गरी लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ । संघले दुई चरणमा गरी ती सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण भण्डारीले बताए ।
औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न प्रकृतिका उद्योगहरुले आफ्नो उत्पादन कार्यका लागि प्रयोग गरिदै आएका सिलिण्डरहरु कोरोना उपचारका लागि उपलब्ध गराएको जनाइएको छ । औद्योगिक उत्पादन भन्दा मानिसको स्वास्थ्य महत्वपूर्ण भएकोले उद्योगीहरुले संघले गरेको अनुरोधलाई आत्मसाथ गरी सिलिण्डरहरु दिएको संघका अध्यक्ष भट्टराईले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij