images

आइतवार, बैशाख १६ गते २०८१

धर्मवीरको धर्म

धर्मवीरको धर्म

images
images
images
सोमवार, बैशाख २७ २०७८
सोमवार, बैशाख २७ २०७८
  • धर्मवीरको धर्म

    भैरहवा, २७ वैशाख । 
    केही दिन अघि युवा व्यवसायी धर्मवीर शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘लकडाउन अवधिमा सिद्धार्थनगर नगरपालिकाभित्र कसैलाई छाक टार्न ग्राहो भए मलाई सम्पर्क गर्नुहोस्, अन्यथा नलिउ । सहयोग माग्नेको नाम लिने छैन् ।’ उनले फेसबुकमा यस्तो स्ट्याटस लेखेपछि उनले लेखेको त्यो स्टास धेरै शेयर हुन थाल्यो । त्यसका साथै शर्माको प्रशंसा पनि हुँदै गयो । 

    images

    दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गरेको आरोपमा एक महिनाको कैद भुक्तानको लागि तीन जना कारागार नै चलान भएका छन् भने ६ जना जरिवाना बुझाएर छुटेका छन् ।  वैशाख १५ गते निषेधाज्ञाको आदेश जारी गरेको प्रशासन कार्यालयले थप कडाइ गरेको छ । वैशाख २३ गते थप आदेश जारी गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र बैंक समेत बन्द गर्न निर्देशन गरेका छन् ।

    कोरोनाको चेन बेक्र गर्नुपर्ने भएकोले तत्काल निषेधाज्ञाको विकल्प पनि छैन् । कोरोना संक्रमण फैलिन नलिन नागरिक सचेत भइ स्वास्थ्य मापदण्डको पालना गर्नेपर्ने हुन्छ । निषेधाज्ञाको पालना गर्नुपर्ने हुन्छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहेक उद्योग व्यवसाय बन्द भएपछि विशेष गरेर दिनभरी काम गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवार त्यसको मारमा परेका छन् । उनीहरुलाई रोगको भन्दा भोकको डर छ । कसरी छाक टार्ने भन्ने उनीहरुमा चिन्ता छ । 

    यस्तै विपन्न परिवारलाई लक्षित गर्दै युवा व्यवसायी धर्मवीर शर्माले विपन्न परिवारको घाउमा मल्हम लगाउने प्रयास गरेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको घरमा अन्नपात नभएको बेला शर्मा उनीहरुको घरमा अन्नपात जुटाइदिने कार्यमा जुटेका छन् । भनिन्छ सेवा नै धर्म हो । धर्मवीर नाम जस्तै सेवा गरेर उनले धर्मको काम गरेका छन् । वैशाख २४ गतेदेखि खाद्यान्न सामग्री वितरण गर्न सुरु गरेका शर्माले हालसम्म २६ जना परिवारलाई वितरण गरिसकेका छन् । खाद्यान्न वितरण गरेको तस्वीर उनले खिच्ने गरेका छैनन र कतै सार्वजनिक समेत गरेका छैनन् । 

    ‘खाद्यान्न सामग्री वितरण गर्न जाँदा केही परिवारका सदस्यले नै फोटो खिच्न आग्रह गरे । मैले सुरुमा नमाने पनि एक/दुईवटा फोटो खिचे, तर कतै सार्वजनिक गरिन, उनले भने । प्रचारका लागि नभइ वास्तविक रुपमा समस्यामा परेकालाई खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएकोले फोटो सार्वजनिक गर्नु आवश्यक नभएको उनको तर्क छ ।

    आफूले समस्यामा परेका नगरबासीलाई फोन सम्पर्क गर्न आग्रह गरेपछि फोन आउन थालेको शर्माको भनाइ छ । ‘कतिपय व्यक्तिहरुले आफै फोन गर्नुहुन्छ भने कतिपयले मेरो टोलमा विपन्न परिवार समस्यामा परेका छन्, सहयोग गरिदिनुपर्यो भनेर जानकारी गराउनुहुन्छ, मैले यसलाई सहयोगको रुपमा होइन आफ्नो कर्तव्यको रुपमा लिएको छु, ’शर्माले भने । एक मानवले अर्का मानवलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ आफू अगाडी बढेको उनको भनाइ छ । 

    ‘खाद्यान्न सामग्री पुर्याउन जाँदा उद्योगमा मजदूरको रुपमा काम गर्ने केही परिवारले एक दिन काम गरेर पाउने ज्यालावापतको रकम नपाउँदा २–३ दिन नै घरमा अन्नपात हुँदैन भन्दै दुःखेसो पोख्नुभो, यसले मलाई झन् भावुक बनायो, ’उनले भने । ५ जना सदस्यको परिवारलाई १० केजी चामल, २ केजी दाल, २ प्याकेट मस्यौरा, एक प्याकेट फुरनदाना र एक लिटर तेल तथा ५ जना भन्दा बढी सदस्य रहेको परिवारलाई थप ५ किलो आटा पनि उपलब्ध गराएको उनले बताए । 

    ४४ वर्षिय धर्मवीर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । विगत ११ वर्षदेखि उनले सिद्धार्थनगर–६ स्थित गल्लामण्डीमा कर्म स्टोर्स सञ्चालन गर्दै आएका छन् । सरल स्वभावका शर्मा निजी क्षेत्रको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीमा लगातार दुईपटक कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । उनी रोटरी क्लब अफ लुम्बिनी सेन्ट्रल लुम्बिनीमा समेत आबद्ध छन् । 

    मिलनसार तथा सहयोगी भावना भएका धर्मवीरले गर्नुभएको कार्य सराहनीय भएको लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष प्रितम रौनियार बताउँछन् । ‘अहिलेको विषम परिस्थितिमा विपन्न परिवारलाई राहत उपलब्ध गराउनु आफैमा प्रशसंनीय कार्य हो, धर्मवीर आफैमा पनि मिलनसार र सहयोगी हुनुहुन्छ, संघमा पनि उहाँ सबैसंग मिलेर अगाडी बढ्दै आउनुभएको छ, ’सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका रौनियारले भने ।

    त्यस्तै शर्माले भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब रुपन्देहीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर जनतामाझ सूचना समाचार सम्प्रेषण् गर्ने पत्रकारहरुलाई मास्क र सेनिटाइर वितरण गरेको उनले बताए । संकटको बेला फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारहरुको लागि शर्माले मास्क र सेनिटाइजर उपलब्ध गराउनुभएको क्लबका कोषाध्यक्ष प्रकाश न्यौपानेले बताए ।



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij