आइतवार , बैशाख २०, २०८३
काठमाडौं, २० बैशाख । दलित समूदायले प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।
आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्छ भन्ने माग राख्दै भेटनका लागि प्रयास गर्दा पनि पीडित आफन्तहरुलाई समेत सो अवसर नदिएपछि प्रधानमन्त्री साहको आलोचनासहित प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री साहले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा मारिएका श्रीकृष्ण विश्वकर्माको आफन्तलाई समेत भेट्न नदिएपछि आफूहरुले त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजीत सिर्पालीले बताउनु भयो । उहाँले श्रीकृष्णको प्रहरी चौकीमा हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानविनका लागि पनि सरकारलाई दबाब दिनुभयो ।
संयोजक श्रीपालीले भन्नुभयो,‘प्रहरी कार्यालयमा मारिएको श्रीकृष्ण विश्वकर्माले न्याय पाउनु पर्छ भनेर हामी निरन्तर संंघर्षमा छौ । अहिले हामीलाई धेरै कुरा पनि होइन कि उनले न्याय पाउनुपर्छ । सरकारले गठन गरेको जुन छानविन समिति छ । त्यो दोषीको अधिनमा छ । प्रहरी भनेको गृह प्रशासन हो । सिडियो कार्यालय भने गृह प्रशासनको कुरा हो ।
त्यही भित्रबाट जुन किसिमको छानविन समिति बनाइएको छ । यसले सही प्रकारको रिपोर्ट ल्याउँछ जस्तो हामीलाई लाग्दैन । यसमा हामीलाई आशंका पैदा भएको छ । अर्को प्रहरी कार्यालयको छानविन समितिले अरु ठाउँबाट होइन, खुर्कोट प्रहरी चौकीबाट नै त्यो शुरु गर्नुपर्छ । जहाँ उहाँलाई मारिएको छ ।
त्यही ठाउँबाट छानविन सुरु गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । न्यायका लागि परिवारका सदस्यसमेत मुद्दा दर्ता गर्न पाउनु भएको छैन । प्रधानमन्त्रीज्युले भेटन समेत दिनु भएको छैन । उहाँ आफैँ गृह र रक्षामन्त्री पनि हुनुहुन्छ ।’
विरोध प्रदर्शनका क्रममा दलीतमाथि हुने सबै प्रकारका हत्या, हिँसा अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
