२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनको घुइँचो

मंगलवार , बैशाख १५, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • ललितपुर, १५ बैशाख । ललितपुरको लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।

    रातो मत्स्येन्द्रनाथको रथयात्राको एक महत्वपूर्ण चरणको रूपमा रहेको लगनखेलमा आज हुने ‘रथ पूजा’ का लागि बिहानैदेखि भक्तजनहरूको ठूलो भीड देखिएको हो ।

    रथमा पूजाअर्चना गरी मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण भक्तजनहरू लगनखेलमा भेला भएका छन् । रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा पुजिन्छ । नेपाल उपत्यकाको जीवन्त संस्कृतिमा मत्स्येन्द्रनाथको रथयात्राको स्थान निकै उच्च छ ।

    किंवदन्ती अनुसार परापूर्व कालमा कान्तिपुरमा भीषण खडेरी परी जनताले निकै कष्ट भोग्नुपरेको थियो । त्यसबेला भक्तपुरका राजा नरेन्द्रदेव र कान्तिपुरका तान्त्रिक वन्धुदत्तले भारतको कामरूप कामाख्याबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याएका थिए ।

    उनको आगमनसँगै काठमाडौं उपत्यकामा पर्याप्त वर्षा भएको र खडेरी हटेको विश्वास रहिआएको छ । त्यसैले, उनको रथयात्रालाई ‘वर्षा र सहकालको पर्व’ का रूपमा मनाइन्छ । 

    लगनखेलमा हुने रथ पूजाको ऐतिहासिक र सांस्कृतिक महत्व छुट्टै छ । यहाँ रथ पुग्दा हुने पूजा र यहाँको चार नारायण मन्दिरसँगको परम्परागत सम्बन्धले नेपालको प्राचीन संस्कृति र धार्मिक सद्भावलाई झल्काउँछ ।

    यो उत्सव केवल धार्मिक समारोह मात्र नभई ललितपुरवासीहरूका लागि सामाजिक एकताको प्रतीक पनि बनेको छ । सोमवार राति लगनखेलमा रातो मत्स्येन्द्रनाथलाई राँँगा, बोका, हाँसको अण्डाको बली दिइएको थियो ।