सोमवार , बैशाख १४, २०८३
काठमाडौं, १४ बैशाख । नेपाली काँग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ ।
पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो ।
नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रश्ताव गरिएको थियो । उक्त प्रश्तावलाई पार्टीका सबै नेताहरूले सम्मानका साथ स्वीकार गरेको सभापति थापाले जानकारी दिनुभयो । नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरण दिँदै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्वता’ को संज्ञा दिनुभयो ।
आङदेम्बेलाई नेता चयन गर्ने प्रक्रियामा अर्का वरिष्ठ नेता अर्जुन नरसिंह केसी र अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाएका छन् । विशेष गरी युवा पुस्ताका सांसदहरूले पार्टीको राष्ट्रिय आवश्यकतालाई बुझेर सर्वसम्मत नेतृत्वका लागि आफूहरू त्याग गर्न तयार रहेको बताएका थिए ।
उहाँले भन्नुभयो, हाम्रो पार्टीमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो । पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ ।
तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ । यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो ।’
आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने विश्वास सभापति थापाले व्यक्त गर्नुभयो । उहाँले नयाँ र पुराना सबै सांसदहरूलाई एकतावद्ध बनाएर लैजान उहाँ सक्षम हुनेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
