आइतवार , बैशाख १३, २०८३
काठमाडौं, १३ बैशाख । नेकपा एमालेकी सांसद साजिदा सिद्धिकीले राज्य सञ्चालनमा जनताको माग र सरकारको आपूर्तिबीच सही तालमेल हुनुपर्नेमा जोड दिनुभएको छ ।
सांसद सिद्धिकीले संसदीय व्यवस्थामा विपक्षी दलको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विपक्षी बलियो भए मात्रै सरकारका गलत काममा खबरदारी गर्न सकिने बताउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूलाई कर्णालीको आवाज र मधेसको सवाल बन्न मन लागेको भन्दै तराईका आवाजलाई सम्बोधन गर्न चाहेको बताउनु भयो ।
संघीयताको चर्चा गर्दै उहाँले काठमाडौंमा केन्द्रित सिंहदरबारलाई घर–घरसम्म पु¥याइएको र यसले न्याय पाउन सहज भएको दाबी गर्नुभयो । संविधान संशोधनका चर्चाका बीच उहाँले सुन्दरताको नाममा संविधान र ऐन कानूनमा जथाभावी ‘छेडखानी’ गर्न नपाइने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जब विपक्ष पावरफुल हुन्छ, अनि मात्रै सरकारले राम्रो काम गर्दा सहयोग र गलत गर्दा खबरदारी गर्न सम्भव हुन्छ । सदन र सडक दुवै ठाउँमा हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौं । म मेरो देशलाई अन्तर्राष्ट्रिय जमातसँग प्रतिष्पर्धा गर्नसक्ने पावरफुल राज्य बनाउन चाहन्छु ।’
लुम्बिनी प्रदेशको राजधानी दाङलाई थप शक्तिशाली र विकसित बनाउनुपर्नेमा उहाँको विशेष जोड छ । काठमाडौंले पाउने जस्तै सुविधा र शक्ति लुम्बिनी प्रदेशले पनि पाउनुपर्ने भन्दै उहाँले समृद्ध नेपालको परिकल्पना साकार पार्न सबै प्रदेशहरू बलियो हुनुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
