२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

नारायणस्थान मन्दिरलाई वाटर डिस्पेन्सर हस्तान्तरण

आइतवार , बैशाख १३, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, १३ वैशाख । हिन्दू जागरण नेपाल सिद्धार्थनगर शाखा तथा महिला सत्य सनातन धर्म संघ (राधे परिवार) रुपन्देहीले भैरहवास्थित नारायणस्थान मन्दिरलाई तातो–चिसो फिल्टरसहितको वाटर डिस्पेन्सर (पानी ट्यांकी) हस्तान्तरण गरेका छन् । शनिबार मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण तथा जडान गरिएको हो ।

    हिन्दू जागरण नेपाल सिद्धार्थनगरको अध्यक्ष माधवी शर्मा वाग्ले र राधे परिवारको अध्यक्ष विपना गौतमको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    सो अवसरमा बोल्दै वडाअध्यक्ष राणाले पानी खुवाउने जस्तो पवित्र कर्म गर्ने दुवै संस्थालाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले यो अनुसरणीय कार्यलाई अन्य संघ–संस्थाहरुले पनि अवलम्बन गर्दै जानुपर्नेमा जोड दिनुभयो। रुपन्देही आफैमा धेरै गर्मी र धेरै जाडो हुने ठाउँ भएको र नारायणस्थान मन्दिर यहाँका पुरानो र धार्मिक आस्थाले महत्वपूर्ण स्थान रहेकोले हिन्दू जागरण नेपाल सिद्धार्थनगर शाखा तथा महिला सत्य सनातन धर्म संघ (राधे परिवार)को उहाँले प्रशंसा गर्नुभयो ।

    कार्यक्रमका विशिष्ट अथिति समाजसेवी डी.आर.शर्माले यस्तो महत्वपूर्ण कार्यमा सहभागी दुवै संस्थाप्रति अत्यन्तै गौरव वढेको बताउनुभयो ।  यी संस्थाहरुको रुपन्देहीको अन्य विभिन्न धार्मिक स्थलहरुमा समेत महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो । 

    विशिष्ट अतिथि उषाकिरण गुरुङ्ग र बाबुराम के.सी.ले यस्तो पवित्र कार्यमा सहभागी पाउँदा गर्वको अनुभुति भएको बताउनुभयो । कार्यक्रममा वाटर डिस्पेन्सर हस्तान्तरका साथ साथै हरेक शनिबार भजनकिर्तन कार्यक्रमको आयोजना गर्ने भैरहवा भजन टोलीलाई समेत नगद हस्तान्तरण गरिएको हिन्दू जागरण नेपालका केन्द्रिय सदस्य नारायण प्रसाद कोइरालाले जानकारी दिनुभयो । कार्यक्रम लक्ष्मी अर्यालको स्वागत तथा नारायण प्रसाद कोइरालाको सञ्चालनमा भएको थियो । कार्यक्रम उद्देश्यका बारेमा जानकारी माधवी शर्मा र विपना गौतमले सहयोगदाता तथा सबैलाई धन्यवादसहित कार्यक्रमको समापन गरिएको थियो । 

    कार्यक्रममा पुर्णनन्द पन्थलगायत उहाँका परिवारले प्रसाद वितरण गर्नुभएको थियो ।