आइतवार , बैशाख १३, २०८३
भैरहवा, १३ वैशाख । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.लुम्बिनीरोड, भैरहवाले कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै “सुलभ उपचार कार्यक्रम” सुरु गर्ने घोषणा गरेको छ ।
अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले निजी स्वास्थ्य संस्था हुँदाहुँदै पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँका अनुसार कम शुल्कमा सेवा लिनुपर्ने बिरामीहरूले लामो लाइनमा कुर्नुपर्ने, अपरेशनका लागि महिनौं पर्खिनुपर्ने, स्वच्छ वातावरण तथा सम्मानजनक व्यवहार नपाउने जस्ता समस्याहरूलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रम अन्तर्गत ओपिडी टिकट १५० रुपैयाँ, जनरल वार्ड ५०० रुपैयाँ, आईसीयू सेवा प्रतिदिन २ हजार २ सय रुपैयाँ, सिटी स्क्यान (हेड) ३ हजार ५ सय रुपैयाँ, भिडियो एक्स–रे ८०० रुपैयाँ र एनआईसीयू सेवा प्रतिदिन २ हजार रुपैयाँमा उपलब्ध गराइने अस्पतालले जनाएको छ । साथै विभिन्न अपरेसन प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध गराइनेछ ।
अस्पतालले प्रत्येक महिना एक÷एक जनालाई पित्तथैलीको पत्थरी, नाक–कान–घाँटी तथा पाठेघरसम्बन्धी शल्यक्रिया निःशुल्क गर्ने योजना पनि सार्वजनिक गरेको छ । यस्तो सेवा अत्यन्त गरीब तथा विपन्न बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी प्रदान गरिने बताइएको छ ।
उक्त कार्यक्रम आगामी वैशाख १६ गतेदेखि लागू हुनेछ । सुलभ ओपिडी सेवा लिन बिहान ७ बजेदेखि साढे ९ बजेसम्म टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ ।
अस्पतालले नेपाल सरकारको निर्देशनअनुसार १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था अझ प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ । साथै गरिब तथा विपन्नका लागि निःशुल्क डायलाइसिस सेवा र सामाजिक सुरक्षा कोष अन्तर्गतका कार्यक्रमहरू समेत सञ्चालन हुँदै आएको जानकारी दिइएको छ ।
यस कार्यक्रमबाट लक्षित वर्ग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
