शनिवार , बैशाख १२, २०८३
भैरहवा, १२ वैशाख । प्रतापपुर गाउँपालिकामा निर्माणाधीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनबारे सामुदायिक छलफल सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष उमेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, समुदायका अगुवा तथा सरोकारवालाको सहभागीता थियो । कार्यक्रममा निर्माणाधीन भवनलाई समुदायमैत्री, सुरक्षित र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको इलाका प्रहरी कार्यालय बेलटारीले जनाएको छ ।
उक्त भवन एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको आर्थिक सहयोग तथा युएनओपीएसको प्राविधिक सुपरीवेक्षणमा निर्माण भइरहेको जानकारी दिइएको छ । गाउँपालिकाले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर निर्माण कार्यलाई प्रभावकारी बनाउन यस्तो छलफल आयोजना गरिएको बताएको छ ।
युएनओपीएसकी इन्जिनियर प्रेक्षा सिंहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न संरचनाको आवश्यकता बढ्दै गएको बताउनुभयो । उहाँले निर्माणाधीन भवन प्रविधिमैत्री, गुणस्तरीय र भूकम्प प्रतिरोधी हुने जानकारी दिनुभयो । यस्ता संरचनाले सेवा प्रवाहलाई थप सहज बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा युएनओपीएसका कृष्णबहादुर कटवाल र सुसन पन्तसहित स्थानीय अगुवा, आमा समूहका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।
इलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी सहायक निरीक्षक युवराज ज्ञवाली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. तथा बेलटारी खानेपानी संस्थाका सचिव ऋषिकेश उपाध्यायको पनि सहभागीता थियो ।
युएनओपीएसले नेपालका विभिन्न जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिरहेको र यस्ता संरचनाले समुदायस्तरमै सेवा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
