शनिवार , बैशाख १२, २०८३
बुटवल, १२ वैशाख । नेपाली युवाहरूले अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । सोही क्रममा रुपन्देहीको सैनामैनाका एक युवाले अमेरिकाबाट सूचना प्रविधिको उच्च शैक्षिक उपाधि हासिल गरेका छन् । सैनामैना नगरपालिका–३, मुर्गिया का स्थायी निवासी सूर्य बानियाले अमेरिकाको केन्टुकी राज्यस्थित कम्बरल्याण्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) पूरा गर्नुभएको हो ।
बानियाले सूचना प्रविधि विशेषज्ञतामा सुक्ष्म सेवा सुरक्षा तथा सूचना सुरक्षा अनुसन्धान विषयमा आफ्नो अनुसन्धान पुरा गर्दै पीएचडीको उपाधि प्राप्त गर्न सफल हुनुभएको हो । आजको डिजिटल युगमा विश्वभरी साइबर सुरक्षा र सूचनाको गोपनीयता चुनौतीपूर्ण बनिरहेका बेला बानियाँो यो अनुसन्धान र विज्ञतालाई महत्वपूर्ण मानिएको छ ।
उहाँका दाई मोहनराज बानियाले मुर्गियादेखि अमेरिकासम्म यात्रामा भाइ सुर्य बानियाको अथक मेहनत रहेको बताउनुभयो । बाल्यकालदेखि केही गर्ने हुटहुटीले गर्दा नै भाइ आज सफल भएको उहाँले बताउनुभयो ।
वि.सं. २०३८ साल कार्तिक २२ गते बुबा प्रेम बानिया र आमा स्वर्गीय दिल कुमारी बानियाको कोखबाट जन्मनुभएका बानियाको प्रारम्भिक शिक्षा गाउँकै पर्रोहा उच्च मावि (हालको पर्रोहा बहुमुखी क्याम्पस क्षेत्र) बाट सुरु भएको थियो । त्यहाँबाट एसईई (साविकको एसएलसी) उत्तीर्ण गरेपछि उहाँले काठमाडौंको त्रिचन्द्र कलेजबाट आईएसी अध्ययन गर्नुभयो ।
त्यसपछि नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरबाट इञ्जिनियरिङमा स्नातक गर्नुभएका उहाँ सन् २००८ मा उच्च शिक्षाका लागि अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले ओक्लोहामा क्रिस्चियन विश्वविद्यालयबाट प्रोजेक्ट म्यानेजमेण्टमा एमबीए समेत समेत गर्नुभएको छ ।
अध्ययनसँगै व्यावसायिक क्षेत्रमा पनि उत्तिकै दख्खल राख्ने बानिया विगत १५ वर्षदेखि म्यारियट भ्याकेसन वल्र्डवाइड–ओर्लान्डो, फ्लोरिडामा सह–निर्देशक रूपमा कार्यरत हुनुहुनछ । उहाँले फ्लोरिडा राज्यमा रियल्टरको रूपमा पनि कार्य गर्नुभएको छ ।
इञ्जिनियरिङ र जागिरमा मात्र सीमित नभइ उहाँ सफल उद्यमी पनि हुनुहुन्छ । अमेरिकामा उहाँ वेल्किन हब इंक नामक आईटी परामर्श र सफ्टवेयर विकास कम्पनीका सञ्चालक पनि हुनुहुन्छ । त्यस्तै ताज इण्डियन रेष्टुरेण्ट र बार, जीरा इण्डियन कुजिन र टेस्ट अफ इण्डिया गरी अमेरिकाका विभिन्न स्थानमा तीनवटा रेष्टुरेण्टहरू समेत सञ्चालन गरिरहनुभएको छ ।
नेपाल हाल डिजिटल ट्रान्सफर्मेसनको चरणमा रहेको अवस्थामा बानिया जस्ता विशेषज्ञले हासिल गरेको ज्ञान नेपालका लागि मार्गदर्शन बन्न सक्छ । सुक्ष्म सेवा सुरक्षा जस्तो जटिल विषयमा नेपालीले विश्वस्तरको डिग्री हासिल गर्नुले विश्व बजारमा नेपाली जनशक्तिको उच्च साख स्थापित गरेको छ ।
हाल अमेरिकामा उहाँको श्रीमती इञ्जिनियर सेलिना रञ्जित बानियाँ जो अमेरिकाको प्रसिद्ध कम्पनी ‘लेक्सिज नेक्सिज’ मा वरिष्ठ क्यूए इञ्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ । दुई छोरीहरू सुवानी एभा बानिया र सुहानी एभा बानियाका साथ बस्दै आउनुभएका सूर्यको यो सफलताले विदेशमा रहेका नेपालीहरूलाई मात्र नभइ स्वदेशमा रही ग्रामीण क्षेत्रमा अध्ययन गर्ने युवा विद्यार्थीहरूलाई समेत परिश्रम र निरन्तरता दिए सफलता सम्भव छ भन्ने प्रेरणा दिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
