बिहिवार , बैशाख १०, २०८३
भैरहवा, १० वैशाख । रुपन्देहीको भैरहवामा जारी ‘खुकुरी टी–२० कप–२०८३’ अन्तर्गत बिहीबारको खेलमा तिरुपति क्रिकेट क्लब र नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएका छन् । तिरुपतिले रेस्पोन्स टीम लुम्बिनीलाई ३ विकेट र नेपथ्यले न्यु फ्रेन्ड क्रिकेट क्लब, कुलहीलाई ९ विकेटले हराउँदै जीत हात पारेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको रेस्पोन्सले ८ विकेट गुमाएर १ सय ७० रन बनायो । जसमा जावेद खानले ७४, रामजन अलीले २९, जयप्रताप यादवले १६ र गोविन्द चौधरीले अविजित १४ रन बनाए । बलिङमा तिरुपतिका नरेन साउदले ३, मोहम्मद हुसेन, तुलबहादुर थापा र दिनेश बोहराले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले १९ ओभर २ बलमा ७ विकेटको नोक्सानीमा १ सय ७३ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा इमरान शेखले ७१, आकाश त्रिपाठीले अविजित ५१, तुलबहादुर थापाले ११ र नरेन साउदले १० रन बनाए । बलिङमा रेस्पोन्सका एजाज खान र समिम कुमारले २–२ तथा सुमित झा र अमित पाठकले १–१ विकेट लिए । खेलमा इमरान शेख प्लेयर अफ द म्याच भए ।
त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको न्यु फ्रेन्डले १६ ओभर १ बलमा अलआउट हुँदै जम्मा ८५ रन बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्यका सागर भण्डारीले ३, प्रविण ढकाल र आशुतोष पाण्डेले २–२ तथा लक्ष्मण कुमाल र जय गोदारले १–१ विकेट लिए । न्यू फ्रेण्डका सफिकुर रहमानले ३८ र मानस सिंहले २४ रन बनाए ।
प्रतिउत्तरमा नेपथ्यले १२ ओभर ३ बलमा १ विकेटको नोक्सानीमा ८६ रन बनाउँदै सहजै जीत निकाल्यो । उसको जितमा सन्दीप यादवले नटआउट ४५, प्रतीक भट्टराईले १९ र रोशन घिमिरेले अविजित १३ रनको योगदान गरे । बलिङमा न्यू फ्रेण्डका अतिउल्लाह खानले १ विकेट लिए । खेलमा सागर भण्डारी प्लेयर अफ द म्याच भए ।
लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागीता छ । यही वैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए ।
साथै म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
