२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैनः उजुरी दिए तत्काल कारबाही गर्छौं–अतिरिक्त महानिरीक्षक मगर

बिहिवार , बैशाख १०, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक एआईजी गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताउनुभएको छ ।

    बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले मल आयातमा सहजीकरण गरिएको बताउनुभएको हो । उहाँले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट बीओपी लाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गर्नुभयो ।

    उहाँले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताउनु भयो । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उहाँको भनाई छ । उहाँले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताउनु भयो । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उहाँको दाबी छ । 


    उहाँले भन्नुभयो, ‘यो साल हामीले मल आयातमा नरोक्नेगरी निर्देशन दिएका छौँ । मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला हामी तत्काल कारबाही गर्नेछौँ । नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ । खुला सीमाना १ हजार ८४८ किलोमिटर सिमाना खुला हुँदाखेरी जताततैबाट हिँड्नसक्ने हुँदा सबै ठाउँमा हाम्रो जनशक्ति पुग्दैन ।

    त्यसको फाइदा उठाएर मल भनेर अरु चीज आयात हुने गरेको पाईन्छ । मलको बोरामा चिनी ल्याउने तथा अरु तस्करी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नको लागी हामीले आकस्मिक कार्यहरु गरिरहेका छौँ । मलको आयातमा भने कडाई गरिएको छैन ।’  समितिको बैठकमा सांसदहरुले सीमा सुरक्षा पोस्ट बीओपीमा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गर्नुभएको थियो ।