२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

बर्दियामा युएनओपिएसद्वारा महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबारे छलफल

बुधवार , बैशाख ९, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • बर्दिया, ९ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले निर्माणाधीन सेवा केन्द्र भवनबारे राजापुरमा सामुदायिक स्तरमा विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राजापुर नगरपालिकाको कार्यबाहक नगरप्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा भएको हो ।

    परियोजना सेवा कार्यालय (युएनओपिएस) को समन्वयमा नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित ‘महिला उत्थानशील परियोजना’ अन्तर्गत इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाको परिसरमा उक्त भवन निर्माण भइरहेको छ । 

    निर्माणपूर्व चरण (प्री–कन्स्ट्रक्सन फेज) अन्तर्गत आयोजना गरिएको सामुदायिक परामर्श बैठकले भवनलाई थप व्यवस्थित, पहुँचयोग्य र सेवामुखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने युएनओपिएसले जनाएको छ ।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणले सक्रिय सहभागीता जनाउँदै भवन निर्माणका विभिन्न पक्षमा सुझाव दिएका थिए । सहभागीहरूले विशेष गरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सुरक्षित, गोपनीय र सहज सेवा उपलब्ध गराउने खालको संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । हाल प्रहरी कार्यालयमा लक्षित समूहका लागि पर्याप्त र उपयुक्त सुविधा अभाव रहेको उल्लेख गर्दै नयाँ भवनबाट सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरिएको छ ।

    युएनओपिएसकी प्राविधिक इन्जिनियर प्रेक्षा सिंहका अनुसार नेपालका विभिन्न जिल्लामा यस्ता सेवा केन्द्रहरू निर्माण भइसकेका छन् । ती संरचनाले सेवाग्राहीलाई अपेक्षाकृत सहजता प्रदान गरेका छन् । सोही अनुभवलाई आधार मानेर राजापुरमा पनि गुणस्तरीय संरचना निर्माणमा ध्यान दिइएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नम्बर ४ का वडाध्यक्ष बिदुर पोखरेल, इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख कविन्द्रसिंह बोहरा, महिला सञ्जालकी सदस्य बसन्ती थारु लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो ।

    WhatsApp Image 2026-04-22 at 9.05.39 PM (1).jpeg

    पछिल्लो समय युएनओपिएसले नेपालका विभिन्न सामाजिक तथा पूर्वाधार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसले स्थानीय तहमा सेवा पहुँच विस्तार र सामाजिक समावेशीतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरूले बताएका छन् ।