२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन माग

बुधवार , बैशाख ९, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • दाङ, ९ वैशाख । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय तथा परिपत्र तत्काल फिर्ता लिन माग गरेको छ । महासंघका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले बुझाउनुभएको ज्ञापनपत्रमा उक्त निर्णय संविधान, कानुन, अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरिएको छ ।

    महासंघका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला शाखामा करिब १ हजार २ सय जना पत्रकार आबद्ध छन् । सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयले निजी मिडियालाई आर्थिक रूपमा कमजोर बनाउने, स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने र आत्म–सेन्सरसीप बढाउने जोखिम रहेको महासंघको ठहर छ ।

    ज्ञापनपत्रमा देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ ।

    महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक र समावेशी बनाउनुपर्ने माग गर्दै निजी, सामुदायिक र सरकारी सबै मिडियामा न्यायोचित वितरण सुनिश्चित गर्न आग्रह गरेको छ ।  साथै सञ्चार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि दीर्घकालीन नीति निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

    महासंघले आफ्ना मागहरू गम्भीरतापूर्वक सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, राष्ट्रिय टेलिभिजन प्रशारण संघ लुम्बिनीका पूर्व अध्यक्ष नरेश के.सी., सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनीका अध्यक्ष नवीन केसी, नेपाल पत्रकार महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव पाण्डवप्रसाद शर्माले गर्नुभएको थियो ।

    ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको सञ्चार क्षेत्र र  वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नै सञ्चार नीति, कार्यक्रम र प्राथमिकताका आधारमा अघि बढ्ने बताउनुभएको हो । 
    उहाँले स्वीकृत वार्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गर्दै लोकतन्त्र सुदृढ बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निरंकुश शासनविरुद्धका आन्दोलनमा मिडियाले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै उहाँले लुम्बिनी प्रदेशले बजेट निर्माणका क्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

    उहाँले यसअघि नै प्रधानमन्त्रीसँगको भेटमा मिडिया क्षेत्रका समस्या र सरकारी विज्ञापनसम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो । प्रदेशका सबै सञ्चार माध्यमको सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, प्रमुख सचिव कृष्ण प्रसाद काप्री लगायतले पनि धारणा राख्नुभएको थियो ।