भैरहवा, २४ वैशाख ।
इलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका ३७ वर्षिय यूवराज ढकाल भन्ने भुवन ढकाललाई वैशाख १६ गते पक्राउ गर्यो । रुपन्देही जिल्ला अदालतले २०६४ वैशाख १८ गते दोषी ठहर गर्दै उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । तर हालसम्म ढकाल फरार सूचीमा थिए । प्रहरीका अनुसार साविक रुपन्देहीको गजेडी गाविस–१ लौसाबाट बसाईसराई गरी चितवनको गितानगर गाविस–७ बाट नागरिकताको प्रमाणपत्र बनाई विगत माघ महिनादेखि रुपन्देहीको कञ्चन गाउँपालिका–२ हात्तीबजारस्थितम कुखुरा फर्म खोली ढकाल बस्दै आएका थिए ।
त्यस्तै कर्तव्य ज्यान मुद्दामा रुपन्देही अदालतबाट फरार सूचीमा रही पुनरावेदन अदालत बुटवलको २०५७ मंसिर २२ गतेको फैसलाले १७ वर्ष ५ महिना २२ दिन कैद तोकिएका ४२ वर्षिय विष्णु परियालाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विष्णुलाई वैशाख १९ गते तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित उनकै घरबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा उनी कैद भुक्तानको लागि जिल्ला कारागार चलान भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्कका बनारसी माझीलाई प्रहरीले पक्राउ गरेको छ । बनारसी कैद भुक्तानको लागी जिल्ला कारागार चलान भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न २०७८ वैशाख १ गतेदेखि ‘फरार अपराधीको अप्रेशन कार्यक्रम’ नै सञ्चालन गरेको छ । उक्त अपरेशन सुरु भएपछि जघन्य अपराधमा संलग्न भइ फरार व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।
कार्यक्रम अन्तर्गत फरार अपराधीहरुलाई कैद अवधीको आधारमा वर्गिकरण गरी खोजतलास तथा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । जघन्य अपराधमा संलग्न १० वर्ष बढी सजाय भएका, जघन्य र गम्भिर अपराधमा संलग्न ३ देखि १० वर्षसम्म सजाय भएका र विभिन्न अपराधमा ३ वर्षसम्म सजाय भएका तथा सो भन्दा कम सजाय भइ फरार अभियुक्तहरुलाई पक्राउ गरिएको डीएसपी थापाले बताए । कोभिड–१९ को अवस्थामा जघन्य अपराधमा संलग्न १० वर्ष बढी सजाय भएका तथा जघन्य र गम्भिर अपराधमा संलग्न रही ३ देखि १० वर्षसम्म सजाय भएका फरार प्रतिवादीहरुको खोजतलास तथा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । त्यस्तै पहिलो प्राथमिकतामा जघन्य अपराधका प्रतिवादीहरुलाई पक्राउ गर्ने कार्यलाई निरन्तरता दिइएको उनको भनाइ छ ।
यसैबीच कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट १० वर्ष कैद सजाय भइ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको साविक गजेडी गा.वि.स.वडा नम्बर १ बस्ने प्रशुराम पौडेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ स्थित नेपालगंज रोडमा हिंडिरहेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागी बिहीबार रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि प्रशुरामलाई बुझाएको र उनी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अदालतबाट सजाय पाएका र आपराधिक घटना घटाएर फरार रहेका आरोपीहरुलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकतामा साथ कार्य अगाडी बढाएको छ । जसका लागि प्रहरीको ‘क्याप टोली’ लाई सक्रिय बनाइनुका साथै सबै इलाका र चौकीका इञ्चार्जहरुलाई खोजीमा खटाइएको छ ।
‘फरार रहेका अपराधीहरु समाजमा रहेर पुनः आपराधिक क्रियाकलाप गर्न सक्ने विषयलाई नकार्न सकिदैन’ रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले भने, ‘जिल्लामा शान्ति सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न सुरु गरेका हौं ।’