भैरहवा, २३ वैशाख ।
रुपन्देहीमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य सम्पूर्ण उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्देशन जारी गरेको छ ।
बिहीबार जिल्ला कोभिड प्रकोप व्यवस्थापन समिति (डीसीसीएमसी) र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्माण सामग्रीको ढुवानी गर्ने कार्य पनि अर्को निर्णय नहुँदासम्मका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
त्यस्तै पूर्वाधार एवं विकास निर्माण सम्बन्धमा निर्माणस्थलमा क्वारेन्टिन (बाहिर आवातजावत नगर्ने सुनिश्चित प्रबन्ध) भएकोबाहेक सबै विकास निर्माणका कार्य अर्को निर्णय नहुँदासम्मका बन्द गर्ने निर्णय भएको प्रजिअ तामाङले बताए ।
अत्यावश्यक र मानवीय सेवा प्रवाहका लागि प्रत्येक बैंक, वित्तीय संस्थाले वैशाख ३० गतेसम्म एक/एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द गर्ने प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
त्यसै गरी हरियो तरकारी एवं कृषि उपजहरु उत्पादक र उपभोक्ताबीच कृषि एम्बुलेन्समार्फत उपलब्ध गराउन सम्बन्धित स्थानीय तहले व्यवस्था मिलाउने आदेशमा उल्लेख गरिएको छ ।
बिहीबार जारी गरिएको थप आदेशबाहेक वैशाख १५ गते जारी गरिएको आदेश अनुसार हुने प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयद्वारा जारी गरिएको आदेश उल्लंघन भएमा अत्यावश्यक वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गरेमा, मूल्यवृद्धि, जम्माखोरी गरेमा, लुकाउने वा सहज आपूर्तिमा अवरोध गरेमा सो कार्य गर्ने उपर कारवाही हुने प्रजिअ तामाङले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको आदेशको पालना गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सोही अनुसार सहयोगको अपेक्षा गरिएको प्रशासन कार्यालयको भनाइ छ ।
कोरोना भाइरस संक्रमणदर र मृत्युदर समेत बढ्दै गइरहेकोले यसको नियन्त्रण, रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउन थप आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । रुपन्देही प्रशासनले जिल्लामा वैशाख १६ देखि वैशाख ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।