बिहिवार , चैत्र ५, २०८२
काठमाडौं, ५ चैत । पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बिहीवार बोर्डमा एक कार्यक्रमका बीच बोर्डले पर्यटक प्रहरीलाई १४ थान मोटरसाइकल हस्तान्तरण गरेको हो । बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलीयाले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक बजेटमार्फत मोटरसाइकल हस्तान्तरण गरिएको जानकारी दिनुभयो । मोटरसाइकलहरूमार्फत पर्यटक प्रहरीलाई दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पु¥याउने बोर्डको विश्वास रहेको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘पर्यटन प्रहरीको मोबिलिटीको लागि र विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्न तथा पर्यटनको सहयोगको लागि पर्यटक प्रहरीलाई सहज होस् भन्ने हेतुले हामीले यस वर्षको बजेटमार्फत मोटरसाइकल सहयोग गरेका हौँ । यसले पर्यटकको सुरक्षाका लागि सरोकारवाला निकाय कति प्रतिवद्ध छन् भन्ने कुरा पनि देखिएको छ । पर्यटक प्रहरी युनिट केन्द्रिय कार्यालयलाई १४ वटा मोटरसाइलक हस्तान्तरण गरिएको छ ।’
नेपालमा पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै पर्यटकहरूको सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्यहरू गर्दै आएको छ । नयाँ सवारी साधनको उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तिब्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
