२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

सोमवार , चैत्र २, २०८२

  • 769
    Shares
  • 769
    Shares
  • काठमाडौं, २ चैत । मिटरब्याज पीडिकहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरुले सोमवार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।

    काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडिकहरुलाई तत्काल कडा कारबाही गर्नसरकारसँग माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन । शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरुलाई हाल सो परिसरमा नियन्त्रणमा लिइएको छ ।

    लाखौ रुपैयाँ ठगी गर्ने उनीहरुलाई कडा कारबाही गर्न आफूहरु सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताउनु भयो । उहाँले पीडकहरुले आफूहरुमाथि ठूलो अन्याय गरेकाले उनीहरुलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने माग गर्नु भयो । 

    श्रेष्ठले भन्नुभयो,‘हामी यस्ता कुख्यात मिटरब्याजीहरुलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरुलाई समाजवाद तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौ । हामी यहाँ ५ सय जना भन्दा बढी पीडित छौ । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौँ ।’

    त्यसैगरी उनीहरुले पीडकहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् । आफूहरुमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताउनु भयो ।

    उहाँले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । 

    पीडित खतिवडाले भन्नुभयो,‘एक लाख भन्दा बढि मानिस चाहीँ मिटरब्याज पीडित, भूमिहिन र अनुचित लेनदेन पर्नुभएको छ । हामी यहाँ मिटरब्याज पीडितले उनीहरुविरुद्ध उजुरी दिएका थियौं । ठगहरुलाई नियन्त्रणमा लिने काम गरेकोमा नेपाल सरकार, नेपाल प्रहरी, जिल्ला अदालत काठमाडौंलगायतलाई हामी धन्यवाद समेत दिन चाहन्छौँ ।’

    केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरुले आफूहरुको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।