२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

निर्वाचनमा पराजय भोगेता पनि जनताकाबीच रहनेछु : ठाकुर गैरे

शनिवार , फाल्गुण ३०, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • पाल्पा, ३० फागुन । नेकपा (एमाले) तिनाउ गाउँ कमिटी पाल्पाले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को चुनावी समीक्षा कार्यक्रम शनिबार झुम्सामा सम्पन्न गरेको छ । एमाले तिनाउका इञ्चार्ज दलबहादुर गुरुङले हालै सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ मा एमालेको स्थिति, तिनाउमा प्राप्त मत र सोको विश्लेषण, चुनावी सबलता, कमजोर पक्ष र पार्टीको भावी योजना विषयमा  प्रस्तुतीकरण गर्नुभएको थियो । 

    सोही विषयमा केन्द्रीत रही पाल्पा–२ का एमाले उम्मेदवार समेत रहनुभएका  पार्टीको केन्द्रीय कमिटी सदस्य ठाकुर प्रसाद गैरेले चुनावमा सहभागी नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक र मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफूले र आफ्नो पार्टीले निर्वाचनमा पराजय भोगेता पनि सधैभर जनताकाबीच रहिरहने बताउनुभयो ।

    पार्टीको हारलाई वडादेखि केन्द्रसम्म गहन तथा घनिभूतरुपमा छलफल गरी पार्टीको नीति, नेतृत्व, जीवनशैली र कार्यविधिमा समेत परिमार्जन गरी  एमाले अघि बढ्ने नेता गैरेले बताउनुभयो।
    सो कार्यक्रममा जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरले चुनावमा एमाले तिनाउ गाउँ कमिटीको प्रयास र प्रयत्न उल्लेखनीय रहे तापनि सोचे जस्तो मत हासिल गर्न नसकिएकोमा पार्टीको आन्तरिक व्यवस्थापन र बाह्य कारण समेत रहेको बताउनुभयो ।

    पार्टीका जिल्ला कमिटी सदस्य एवं तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा विकास निर्माणका कामहरु प्रशस्त भए पनि सो अनुसार मत संकलन गर्न नसकिएको बताउनुभयो । 
    समीक्षा कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु यादव अर्याल, सावित्रा राना, ईन्द्राकुमारी चिदी, तुलबहादुर आले, भुवानसिह चिदी, माया दर्लामी, रामबहादुर थापा, एमानसिह चिदी, लालबहादुर दर्लामी, कृष्ण अर्याल, यमबहादुर चिदी, मनोज आले, गोबिन्द पाण्डेय, लक्ष्मण कुमाल, भुवन जीसीलगायतले तिनाउमा एमाले पहिला शक्ति हुन नसक्नुका कारणको खोजी र भविष्यमा पार्टीले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । 

    उहाँहरुले पार्टीलाई सैद्वान्तिक रुपले स्पातिलो र व्यवहारिक रुपमा अनुशासित बनाउँदै संगठनलाई गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको थियो । एमालेले हारलाई स्वीकार गरी पुनः विजय यात्राको सुरुवाती कदम बनाई अघि बढ्ने उहाँहरुको तर्क थियो ।

    गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरीले सहभागीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।