शनिवार , फाल्गुण ३०, २०८२
भैरहवा, ३० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित साई ग्लोबल एकेडेमी (साई ग्लोबल माध्यमिक विद्यालय र कलेज) मा खाना महोत्सव (फूड फेस्टिबल) आईएसओ सर्टिफिकेशन र पुरस्कार वितरण कार्यक्रम हुँदैछ । विगत ३ वर्षदेखि आयोजना हुँदै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको विद्यालयमा शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्न, सीपको विकास गर्न र उनीहरुको मनोबल बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक तथा कार्यक्रम संयोजक मोती प्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम फागुन ३० गते शनिबार (आज) बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कार्यक्रमबारे जानकारी दिदै विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले विद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगात्मक ज्ञान आवश्यक रहेको बताउनुभयो । उहाँले यस वर्षको कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो । ‘विद्यालयले आयोजना गर्न लागेको कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व र व्यक्तित्व विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ, ’उहाँले भन्नुभयो–१६ वटा स्टल रहने खाना महोत्सवमा खानाका विभिन्न परिकार राखिनेछ ।’
त्यस्तै विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ) को लोगो पनि प्राप्त गर्ने र उक्त लोगो आईएसओका नेपालका प्रतिनिधि सुधिर शर्माले हस्तान्तरण गर्नुहुनेछ । कार्यक्रममा विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिनेछ । विद्यालयमा हाल २ हजार ४ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका, पूर्व विद्यार्थी लगायतलाई आमन्त्रित गरिएको विद्यालयका अध्यक्ष दिनेश मान अमात्यले जानकारी दिनुभयो । उहाँले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो । अध्यक्ष अमात्यले खाना महोत्सवसँगै शैक्षिक गुणस्तर सम्बन्धि सरकारको मान्यताप्राप्त निकायले साई ग्लोबल एकेडेमीलाई प्रदान गर्ने अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड चिन्ह हस्तान्तरण कार्यक्रम पनि शनिबार नै रहेको जानकारी दिनुभयो ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले साई ग्लोबल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गरेर अब्बल विद्यार्थी उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिन विद्यालयलाई आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij