२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

‘मन्टेश्वरी शिक्षाले बालबालिकाको समग्र विकासमा टेवा पुर्‍याउँछ’

शुक्रवार , फाल्गुण २९, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • भैरहवा, २९ फागुन । बालबालिकाको समग्र विकास, व्यवहारिक ज्ञान र सिर्जनशील क्षमताको अभिवृद्धिका लागि मन्टेश्वरी शिक्षा अत्यन्तै महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ । रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलस्थित मेरीगोल्ड मन्टेश्वरी स्कूलमा शुक्रबार आयोजित पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रममा सहभागी वक्ताहरूले मन्टेश्वरी शिक्षाले बालबालिकालाई व्यवहारिक तथा आत्मनिर्भर बनाउने भएकाले यसको आवश्यकता बढ्दै गएको बताएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि तथा ओमसतिया गाउँपालिका–३ का अध्यक्ष प्रकाश सिंहले पालिकाभित्र सञ्चालनमा आएको पहिलो मन्टेश्वरी विद्यालयका रूपमा मेरीगोल्ड मन्टेसोरी स्कुलले सकारात्मक उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि टाढा–टाढा जानुपर्ने बाध्यता अहिले क्रमशः घट्दै गएको उल्लेख गर्दै स्थानीयस्तरमै राम्रो शैक्षिक वातावरण निर्माण हुन थालेको बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘बालबालिकाको भविष्य निर्माणका लागि प्रारम्भिक शिक्षा निकै महत्वपूर्ण हुन्छ । मन्टेश्वरी प्रणालीले बालबालिकामा अनुशासन, सिर्जनशीलता र आत्मविश्वास विकास गर्न सहयोग पु¥याउँछ । यसले उनीहरूलाई व्यवहारिक जीवनका सीप सिकाउने भएकाले आगामी दिनमा समाजका लागि सक्षम नागरिक तयार पार्न सहयोग पुग्छ ।’

    कार्यक्रममा बोल्दै शिक्षाविद् बाबुराम भण्डारीले बालबालिकालाई सिकाउने क्रममा केवल पाठ्यपुस्तकमा सीमित नभइ व्यवहारिक जीवनसँग सम्बन्धित ज्ञान पनि दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार बालबालिकालाई सानातिना दैनिक काम, सामाजिक संस्कार र अनुशासन सिकाउने प्रक्रिया नै दीर्घकालीन शिक्षाको आधार हो । उहाँले भन्नुभयो–‘मन्टेश्वरी प्रणालीले बालबालिकालाई घरायसी वातावरण जस्तै सहज परिवेशमा सिक्ने अवसर दिन्छ । यस्तो वातावरणमा बालबालिका स्वतः सक्रिय हुन्छन् र उनीहरूको बौद्धिक तथा सामाजिक विकास सहज रूपमा हुन्छ । त्यसैले अहिले विश्वभर मन्टेश्वरी शिक्षा लोकप्रिय बन्दै गएको छ ।’

    कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले मन्टेश्वरी शिक्षाले बालबालिकाको प्रतिभा पहिचान गर्न र उनीहरूलाई सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद, साँस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै बालबालिकाको बहुआयामिक विकासमा योगदान पु¥याइरहेको उनीहरूको भनाइ थियो ।

    कार्यक्रममा जनप्रतिनिधि सपना थापा, अभिभावककातर्फबाट ईश्वरी सिंह, विद्यालयकी प्रिन्सिपल विन्दु खराल, विद्यार्थीहरू परियुब पौडेल, परिशा सिंह, सन्देश मिश्रा, क्रिस्टिना थापा र आयन्स बस्याल लगायतले मन्तव्य राखेका थिए । वक्ताहरूले विद्यालयले बालबालिकाको प्रतिभा विकासका लागि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
    विद्यालयकी प्रिन्सिपल विन्दु खरालले विद्यालयले प्रारम्भिक शिक्षालाई बालमैत्री र व्यवहारिक बनाउने उद्देश्यले विभिन्न शिक्षण विधि अपनाएको बताउनुभयो । उहाँका अनुसार बालबालिकाले खेल्दै सिक्ने वातावरण सिर्जना गर्न विद्यालयले विशेष ध्यान दिएको छ ।

    उहाँले भन्नुभयो–‘मन्टेश्वरी शिक्षाको मुख्य उद्देश्य बालबालिकालाई स्वतन्त्र रूपमा सिक्ने अवसर प्रदान गर्नु हो । हामीले बालबालिकालाई केवल पढाउने मात्र नभइ उनीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक व्यवहार विकास गर्ने वातावरण सिर्जना गर्ने प्रयास गरेका छौं ।’

    कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । साथै विद्यालयसँग सहकार्य गर्दै आएका केही अभिभावकहरूलाई पनि सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

    त्यसै गरी विद्यालयले सञ्चालन गरेको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । शैक्षिक उपलब्धिका साथै खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको  छ । विजेता तथा उपविजेता विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कार प्रदान गरिएको थियो।

    कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । नृत्य, गीत, नाटक तथा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुति हेर्न अभिभावक तथा स्थानीयबासी उत्साहित देखिएका थिए ।

    कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै संस्कार र व्यवहारिक ज्ञानमा पनि ध्यान दिएको भन्दै प्रशंसा गरेका थिए । विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।