शुक्रवार , फाल्गुण २९, २०८२
भैरहवा, २९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले खेलाडीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ । बिहीबारदेखि भैरहवामा सुरु भएको आठौं अन्तर डोजाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८२ को उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘खेलाडीले सबैभन्दा पहिला सिक्नुपर्ने अनुशासन हो । अनुशासित भएर खेल्ने र सिक्ने अझै ठूलो कुरा हो, ’उहाँले भन्नुभयो । उहाँले खेलाडी देशको गहना भएको बताउनुभयो । यो भैरहवा तेक्वान्दो क्लब (डोजाङ) हाम्रो हो । धेरैजनाले खेल्ने इच्छा राख्नुहुन्छ । कहाँ गएर खेल्ने भन्नेहरुले यो स्थान रोज्नुहुन्छ । यो स्थान रोजिसकेपछि उहाँहरु धेरै ठाउँमा खेलमा आबद्ध हुन जानुहुन्छ र सिद्धार्थनगर नगरपालिकाको नाम अगाडि बढ्छ, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।
खेलकुदलाई अगाडि बढाउने भैरहवा तेक्वान्दो क्लबमा आबद्ध सम्पूर्ण युवाहरुको टीमप्रति उहाँले आभार व्यक्त गर्नुभयो । ‘क्लबले गर्दा आज धेरै खेलाडीहरु उत्पादन भएका छन् । यो टीमलाई साथ दिने र विश्वास गरी विद्यार्थी तथा खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउने क्लब, विद्यालय तथा अभिभावकहरुप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु, ’उहाँले भन्नुभयो।
खेलमा सधै जीत हुने र हार कहिल्यै नहुने उहाँको भनाइ छ । ‘हार किन हुँदैन भने खेल खेल्दा हामी जित्छौं, जित्न सकेनौ भने हामी सिक्छौं । खेलमा जीत र सिक हुन्छ । जित्नेहरुलाई शुभकामना, सिक्नेहरुलाई अर्को वर्ष पक्कै जित्नुहुन्छ भन्दै शुभकामना व्यक्त गर्दछु, ’उपप्रमुख अधिकारीले भन्नुभयो ।
उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक सुमन पौडेल, तपन केवट लगायतले बोल्नुभएको थियो ।
सिद्धार्थनगर नगरपालिका–५ स्थित सेवापथमा सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजक भैरहवा तेक्वान्दो क्लब, रुपन्देहीका अध्यक्ष एकनारायण अर्याल (विष्णु)ले बताउनुभयो।
प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) जिल्लाका २५ वटा क्लब÷विद्यालयका गरी ५२० जना खेलाडीको सहभागीता रहेको भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दीपक न्यौपानेले जानकारी दिनुभयो । कोषाध्यक्ष न्यौपानेका अनुसार खेल पुम्से र गेरोगी विधामा खेलाइएको छ ।
कार्यक्रममा उद्योगी तथा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. तिलोत्तमा नगरपालिका–१६, रुपन्देहीका सञ्चालक बसन्त रोका क्षेत्रीले अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँको चेक क्लबलाई प्रदान गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij