२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

गुणस्तरीय औषधि उत्पादन प्रयोगशालाको स्तरोन्नति गरिँदै

बिहिवार , फाल्गुण २८, २०८२

  • 544
    Shares
  • 544
    Shares
  • काठमाडौं, २८ फागुन । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताउनुभएको छ । 

    हाल बजारमा उपलब्ध हजारौं प्रकारका औषधिहरूको परीक्षण गर्ने क्षमता राज्यसँग नभएको यथार्थलाई स्वीकार गर्दै मन्त्री गौतमले प्रयोगशालाको भौतिक तथा जनशक्ति विकासमा सरकारले काम शुरु गरिसकेको बताउनुभएको हो ।

    बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको प्रारम्भिक विश्लेषणअनुसार नेपालको औषधि व्यवस्था विभाग हाल ‘लेभल वान’ (स्तर एक) मा मात्र रहेको र यसलाई कम्तीमा ‘लेभल थ्री’ वा ‘लेभल फोर’मा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

    गुणस्तरहीन र म्याद गुज्रिन लागेका कच्चा पदार्थ (र–म्याटेरियल) भित्रिन नदिन र उत्पादित औषधिको सही विश्लेषण गर्न अत्याधुनिक प्रयोगशाला अनिवार्य रहेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘अहिले बजारमा करिव २४ हजार किसिमका औषधिहरू उपलब्ध छन्, तर हाम्रो प्रयोगशालाले वर्षमा जम्मा ६४० वटा मात्रै परीक्षण गर्न सक्ने अवस्था छ । १० प्रतिशत मात्रै परीक्षण गर्दा पनि २४ सय वटा पुग्छ ।

    उत्पादनकै परीक्षण गर्न नसकिरहेको अवस्थामा कच्चा पदार्थको परीक्षण कसरी गर्ने ? त्यसैले ल्याबको क्षमता बढाउनुको विकल्प छैन । कठिन परिस्थितिमा पनि अर्थ मन्त्रालयबाट पहिलो, दोस्रो र तेस्रो वर्ष गरेर चरणवद्ध रूपमा जनशक्ति थप्ने स्वीकृति पाएका छौं । अब दक्ष जनशक्ति भर्ना र क्षमता विकासको काम अघि बढ्छ ।’

    प्रयोगशाला सुधारका लागि सरकारले ‘ओ एण्ड एम’ (संगठन तथा व्यवस्थापन) सर्वेक्षण सम्पन्न गरी नयाँ दरबन्दी सिर्जना गर्न स्वीकृति पाइसकेको मन्त्री गौतमले जानकारी दिनुभयो ।

    नयाँ प्रयोगशाला भवन निर्माणका लागि सिंहदरबारभित्रको पुरानो स्वास्थ्य मन्त्रालयको जग्गा र बाराको पथलैयामा समेत सम्भाव्यता अध्ययन गरिएको तर जनशक्ति र अन्य प्राविधिक कारणले हालकै स्थानमा पुरानो भवन भत्काएर नयाँ अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने निष्कर्षमा सरकार पुगेको उहाँले बताउनु भयो ।

    भारतको गाजियावादस्थित प्रयोगशालाको आफैँले अवलोकन गरेको उल्लेख गर्दै उहाँले नेपालमा पनि निजी क्षेत्रले जस्तै उत्कृष्ट राष्ट्रिय प्रयोगशाला बनाउने र त्यहाँ विद्यावारिधि (पीएचडी) गरेका दिग्गज विशेषज्ञहरू राख्ने लक्ष्य रहेको बताउनु भयो ।