२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५७० पुग्यो

बिहिवार , फाल्गुण २८, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, २८ फागुन । लेबनानमा जारी इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५७० पुगेको छ ।]

    लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च २ देखि शुरु भएको तनावमा हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका छन् । यस द्वन्द्वले देशभर ठूलो स्तरमा विस्थापन निम्त्याएको छ । सरकारी तथ्याङ्कअनुसार हालसम्म करिब ७ लाख ५९ हजार ३०० जना विस्थापितका रूपमा दर्ता भएका छन् ।

    अधिकारीहरूका अनुसार युद्धका कारण घर छोड्न बाध्य भएका परिवारहरूका लागि विभिन्न क्षेत्रमा ५८० वटा आश्रयस्थलहरू स्थापना गरिएका छन्, जहाँ हाल १ लाख २२ हजार ६०० विस्थापित मानिसहरू बसोबास गरिरहेका छन् । यसैबीच लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले मंगलबार दिउँसो बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा तीनवटा हवाई आक्रमण गरेको छ ।

    दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि इजरायली आक्रमणहरू जारी रहेका छन् । हेजबुल्लाहले नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता पहिलोपटक मार्च २ को बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेको बताएको छ।

    हेजबुल्लाहको यस कदमपछि लेबनानी सरकारले सो समूहको सुरक्षा र सैन्य गतिविधिमा प्रतिवन्ध लगाउँदै, उसलाई केवल राजनीतिक कार्यमा सीमित रहन र आफ्ना हतियारहरू बुझाउन निर्देशन दिएको छ । इजरायली सेनाले हेजबुल्लाह विरुद्ध आक्रामक सैन्य अभियान शुरु गरेको जनाएको छ ।

    यस अन्तर्गत लेबनानका विभिन्न भू–भागमा तीव्र हवाई आक्रमण र सीमा क्षेत्रमा स्थलगत सैन्य कारबाहीहरू भइरहेका छन् । इजरायलले लिटानी नदीको दक्षिणी क्षेत्र र बेरुतको दक्षिणी उपनगरीय क्षेत्रका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी समेत दिएको छ ।