२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

भारी मतान्तर रुपन्देही–३ का जनता कति चेतनशील हुनुहुन्छ भन्ने प्रमाण : डा. लेखजंग थापा

बिहिवार , फाल्गुण २८, २०८२

  • 622
    Shares
  • 622
    Shares
  • भैरहवा, २८ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले सञ्चार क्षेत्र बिना यो समाज अगाडि बढ्न नसक्ने बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रले नै समाजलाई राम्रो दिशामा लैजाने बताउनुभयो । बुधबार भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै डा.थापाले पत्रकारिता सम्मानित पेशा भएको बताउनुभयो । यो कुरा सञ्चारकर्मीले सावित गर्नुभएको उहाँले बताउनुभयो ।

    ‘सञ्चार क्षेत्रसँग सहकार्य गर्दै र सञ्चारकर्मीहरुसँग मिलेर समाजलाई अझ राम्रो बनाउनु छ । निःस्वार्थ भावका साथै भूमिका निर्वाह गर्ने वाचाका साथ अघि बढेका छौं, ’उहाँले भन्नुभयो ।
    प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुलाई आफूले व्यक्तिगत जीत नभइ समाज र जनताको जीतको रुपमा लिएको उहाँले बताउनुभयो । ‘एक किसिमको जुन परिवर्तन पक्का आउँछ भन्ने आशा थियो, त्यो आशालाई यथार्थतामा बदल्न सञ्चारकर्मीको ठूलो योगदान छ । परिवर्तनका लागि यहाँहरुले सहयोग गर्नुभएको छ’डा.थापाले भन्नुभयो ।

    निर्वाचनमा भारी र नेपालकै ऐतिहासिक मतान्तरलाई रुपन्देही–३ का जनता कतिको चेतनशील हुनुहुन्छ भन्ने प्रमाणको रुपमा लिएको उहाँले बताउनुभयो । आफूले मतान्तरलाई ठूलो जिम्मेवारीको रुपमा लिएको उहाँले बताउनुभयो । ‘समाजमा जाँदा हामीले हाम्रो काम गर्यौं, अब तपाईको पालो भन्नुहुन्छ । त्यतिखेर म दुई कदम पछाडि सर्छु अनि भन्छु के हजुरहरुको साथ यतिसम्म मात्रै हो त ? मैले उहाँहरुलाई भन्छु–जसरी माया, आर्शीवाद र मार्गदर्शन गरिरहनुभएको छ, अब उप्रान्त पनि एकदमै जरुरी छ ।’

    परिवर्तनका लागि रुपन्देही–३ का ३६ वडाकै जनताले भारी मत दिएर जिताउनुभएको उहाँले बताउनुभयो । ‘मैले जिम्मेवारी लिदै गर्दा त्यसको गहिराइमा लुकेका आशा, भरोसा र विश्वासलाई एकदमै उच्च सम्मान गर्दै पारदर्शीता, जवाफदेहीता कायम राखी जिम्मेवार व्यक्तिको रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु, ’डा.थापाले भन्नुभयो । राम्रो, समृद्ध, भ्रष्टाचारमुक्त र विकास भएको नेपाल देख्नका लागि सबैको साथ रहनेमा आफू पूर्ण विश्वस्त रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार ज्ञानु पौड्याल, पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्य नारायण प्रसाद भण्डारी, नेता विनोद खरेल लगायतको उपस्थिति थियो । 

    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देही–३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा भारी मतान्तरले निर्वाचित हुनुभएको थियो । मतगणनाको अन्तिम परिणामअनुसार डा. थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्नुभएको छ ।