बुधवार , फाल्गुण २७, २०८२
काठमाडौं, २७ फागुन । इजिप्टले विश्वव्यापी ऊर्जा बजारमा देखिएको असाधारण परिस्थितिलाई उद्धृत गर्दै आन्तरिक इन्धनको मूल्य बढाएको छ । देशको तेल मन्त्रालयले पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयको तथ्यांकअनुसार प्रमुख पेट्रोलियम पदार्थहरूमा करिव १४ प्रतिशतदेखि १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको जनाएको हो ।
विज्ञप्तिका अनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर २१ इजिप्टियन पाउन्डबाट बढेर २४ पाउन्ड (०.४५ अमेरिकी डलर) पुगेको छ । त्यस्तै, ९२–अक्टेन पेट्रोल १९.२५ बाट २२.२५ पाउन्ड, ८०–अक्टेन पेट्रोल १७.७५ बाट २०.७५ पाउन्ड र डिजेल १७.५ बाट २०.५ पाउन्ड पुगेको छ । यसैबीच, सवारी साधनका लागि प्रयोग हुने कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) को मूल्य प्रतिघनमिटर १० पाउन्डबाट बढेर १३ पाउन्ड पुगेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले नयाँ मूल्य मंगलवार स्थानीय समय अनुसार बिहान ३ः०० बजे (०१०० जीएमटी) बाट लागू भएको जनाएको छ । यस समायोजनको कारण मध्यपूर्वमा भइरहेको भूराजनीतिक विकास र विश्वव्यापी ऊर्जा बजारमा यसको प्रत्यक्ष प्रभावबाट उत्पन्न असाधारण परिस्थितिलाई दिइएको छ ।
जसले आयात र आन्तरिक उत्पादन लागतमा उल्लेखनीय वृद्धि गरेको मन्त्रालयले जनाएको छ । आपूर्ति श्रृंखलामा अवरोध, बढ्दो जोखिम स्तर र उच्च समुद्री ढुवानी तथा बीमा लागतले विश्वव्यापी कच्चा तेल र पेट्रोलियम पदार्थको मूल्यमा तिब्र वृद्धि ल्याएको छ । जुन वर्षौंदेखि नदेखिएको स्तरमा पुगेको मन्त्रालयले थपेको छ ।
यी चुनौतीहरूको जवाफमा, सरकारले इजिप्टको आयात बिल कम गर्न आन्तरिक उत्पादन बढाउन र तेल तथा ग्यास अन्वेषण विस्तार गर्ने प्रयास जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिक र राज्यका सबै क्षेत्रहरूका लागि पेट्रोलियम र ग्यास आपूर्तिको दिगोपन सुनिश्चित गर्न, साथै आन्तरिक बजारमा ऊर्जा सुरक्षा र स्थिरता कायम राख्न अधिकारीहरूले बजारको विकास र लागतलाई नजिकबाट नियालिरहेको पनि थपिएको छ ।
इजिप्टको आन्तरिक इन्धन मूल्य वृद्धि संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीच चलिरहेको द्वन्द्वको बीचमा आएको छ । जसले खाडी क्षेत्रमा आफ्नो छायाँ पारेको छ र विश्वव्यापी तेल तथा ग्यास बजारलाई अस्थिर बनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij