मंगलवार , फाल्गुण २६, २०८२
भैरहवा, २६ फागुन । नेपाली काँग्रेसका नेता आशुतोष मिश्रले कांग्रेस पार्टी पछिल्लो दशक धेरै ठाउँमा चुकेको बताउनुभएको छ । मंगलबार पार्टी सभापति गगन थापासँगको फोठो पोष्ट गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ–‘नेपाली कांग्रेस पार्टी पछिल्लो दशक धेरै ठाउँमा चुकेकै हो । अनि नेपाली कांग्रेसको चुनावी परिणामको कारक माघ १–फाल्गुन २१ को क्रियाकलाप बिलकुल होइन । भदौ २३ निम्त्याउने कारक र यो नतिजाको कारक एउटै हो । विशेष अधिवेशनले त हामीलाई जनतामाझ जाने ठाउँ दिएको हो ।’
हालै सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएका मिश्रले पार्टीको विशेष अधिवेशन पनि नभएको भए हाम्रो हालत के हुन्थ्यो भन्ने हरेक सच्चा कांग्रेसीले बुझेको बताउनुभयो ।
चुनावी घरदैलोको दौरान सोधिएका प्रश्नहरू तपाई लक्षित थिएनन्, हाम्रो पूर्व नेतृत्व लक्षित थियो। समय यति थोरै भयो कि हामी फेरिएर आएको सन्देश सबै जनतामाझ पुर्याउन सकेनौं । १ दशक लगाएर बिगारिएको पार्टीको छवि डेढ महिनामा सुधार्न सम्भव नभएकै हो, उहाँले भन्नुभयो ।
सत्ताको प्रलोभन दिँदा पनि ठूलो राजनीतिक जोखिम मोलेर विशेष अधिवेशन गर्ने सभापतिप्रति गर्व रहेको मिश्रले बताउनुभयो । उहाँले लेख्नुभएको छ–‘प्रिय गगन दाइ, तपाईको पछाडि हामी थियौं, छौं र हुनेछौं ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij