२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मंगलवार , फाल्गुण २६, २०८२

  • 994
    Shares
  • 994
    Shares
  • काठमाडौं, २६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ ।

    शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताउनुभएको हो ।

    हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिव ४० देखि ५० प्रतिशत मात्र धानिरहेको बताउनु भयो । उहाँले स्वदेशी उद्योगहरूले उत्पादन क्षमता बढाएर बाहिरबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखेर खरिद गर्न चाहेको स्पष्ट पार्दै डा. दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने बताउनु भयो ।  

    डा. दासले भन्नुभयो, ‘हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ । पहिलो चरणमा सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू स्वदेशी उद्योगले नै उत्पादन गरिदिउन् भन्ने मन्त्रालयको चाहना छ ।

    यसले गर्दा स्थानीय गाउँ तहसम्म सर्वसलभ रूपमा औषधि पुग्न सकोस् हामीले अहिले ४०–४५ वटा औषधि मात्र आफैँ बनाउन सक्छौँ भनेर बस्ने होइन, क्षमता विस्तार नगरी बाहिरबाट आउने औषधिलाई प्रतिस्थापन गर्न सकिँदैन ।’

    सामाजिक उत्तरदायित्व बहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएमा राज्यले उद्योगीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने उहाँको भनाइ छ । 

    नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा ‘गुणस्तरहीन’ भन्ने भ्रम फैलिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    डा.दासले यस्ता भ्रम र हल्लाहरूलाई चिर्न प्रभावकारी सञ्चार र एड्भोकेसीको आवश्यकता रहेको बताउनु भयो । उद्योगीहरूले आफ्ना उत्पादन गुणस्तरीय रहेको दाबी गर्ने र मन्त्रालयले पनि पूर्ण विश्वासका साथ स्वदेशी औषधि खरिद गर्ने तर बाहिर भने सरकारी निकायले किनेका औषधि गुणस्तरहीन छन् भन्ने हल्ला चल्ने गरेकोप्रति डा. दासले ध्यानाकर्षण गराउनु भयो ।

    दासले विपद्को समयमा प्रयोग हुने ‘रिस्क कम्युनिकेसन एण्ड कम्युनिटी इन्गेजमेन्ट’ मोडल जस्तै औषधिको गुणस्तरको विषयमा पनि जनतालाई सुसूचित गर्नुपर्ने बताउनु भयो । स्वदेशी औषधिको गुणस्तर राम्रो छ भनेर जनतालाई बुझाउनसके मन्त्रालय र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘हामी गुणस्तरीय औषधि उत्पादन गर्छौँ भन्छौँ, आपूर्ति महाशाखाले किन्छ पनि, तर बाहिर गुणस्तरहीन औषधि किनियो भन्ने कुरा आउँछ । यस्तो किन भइरहेको छ ? पक्कै पनि हाम्रो सञ्चार र एड्भोकेसी पुगेन । रुमरलाई न्युनिकरण गर्न सञ्चारलाई बलियो बनाउनैपर्छ । यसले गर्दा स्वदेशी उत्पादनप्रति जनताको विश्वास बढ्छ र उद्योगलाई पनि फाइदा हुन्छ ।’

    मन्त्रालयले नेपाली औषधि उद्योगहरूलाई बजारको कुनै अभाव नरहेको भन्दै उत्पादन बढाउन आग्रह गरेको छ । हाल नेपालमा सञ्चालित ‘स्वास्थ्य बीकमा कार्यक्रम’ नै औषधिको सबैभन्दा ठूलो खपतकर्ता भएको भन्दै उत्पादित औषधि सजिलै खपत हुने बताउनु भयो । स्वदेशी उद्योगहरूले उत्पादन बढाएमा बजार नपाउने भन्ने समस्या नै नरहेको स्पष्ट पार्नुभयो ।

    आन्तरिक बजारको माग पूरा गरेपछि बाँकी रहेको औषधि विदेश निर्यात गर्न सकिने र यसले राज्यको अर्थतन्त्रलाई नै बलियो बनाउने उहाँको भनाइ छ ।